काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे।
१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो ४ः२० उनी काठमाडौं पुग्ने तालिका रहेको भए पनि झण्डै दुई घण्टा ढिलो आइपुगेका हुन्।

विशेष उडानमार्फत पाकिस्तानको इस्लामावादबाट नेपाल आएका उनी विमानस्थलबाट सिधै होटल द्वारिका जानेछन्। आइतबारका लागि कुनै औपचारिक कार्यक्रम नरहे पनि उनी चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ लगायतका कार्यक्रममा सहभागि हुने छन् ।
चार वर्षपछि नेपाल आएका मन्त्री यीको यसपालीको भ्रमण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको आधार तय गर्ने र चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा केन्द्रित हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली र उनका चिनियाँ समकक्षी यी नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म होटल याक एन्ड यतीमा द्विपक्षीय भेटवार्ता हुनेछ।
करिब ४५ घण्टा काठमाडौं रहने उनको भ्रमणको कार्यसूची भने व्यस्त छ। साँझ ५ बजे उनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन्।
ओलीसँग उनले करिब ४५ मिनेट कुराकानी गर्नेछन्। शितल निवासमा गएर उनले राष्ट्रपति भण्डारीसँग बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म भेटवार्ता गर्नेछन्।
चीन फर्किनुअघि उनले मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।