काठमाडौं- राजधानीमा हुने लुटपाट घटनामा नेपाली सेनाका भगौडादेखि विप्लवका कार्यकर्तासम्म संलग्न हुने गरेको खुलासा भएको छ।
राजधानीका विभिन्न स्थानमा भएको लुटपाटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक समूह पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो।
शनिबार प्रहरीले लुटपाटका घटनामा संलग्न भएको आरोपमा काठमाडौं-१६ स्थित हाइ रेस्टुरेन्ट एन्ड डान्सबारबाट ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा जिल्ला अजिरकोट गाउँपालिका घर भई सोही रेस्टुरेन्ट संचालन गर्दै आइरहेका ३८ वर्षीय कुशल अधिकारी समेत छन्।
उनी नेपाल आर्मीका भगौडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी सोही समूहमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सदस्य समेत रहेको प्रहरीले बताएको छ।
पक्राउ परेका रसुवा जिल्ला छेदिङमो गाउँपालिका-४ घर भई हाल हलचोक बस्ने योर्साङ घले पनि रहेका छन्।
२९ वर्षीय उनी विप्लव समूहका कार्यकर्ता भएको खुल्न आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

हाइ रेस्टुरेन्टकै अन्य ४ संचालक रामबहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ र पिटर तामाङ पनि पक्राउ परेका छन्।
उनीहरूको स्थायी ठेगानाका क्रमशः नुवाकोट जिल्ला विदुर नगरपालिका-१०, सोही जिल्ला तारकेश्वर गाउँपालिका-१, धादिङ खनिवास गाउँपालिका-५ र नुवाकोटको विदुर नपा-७ रहेको रहेको छ।
उनीहरूको उमेर क्रमश २९, २५, २७ र ३० रहेको छ। यस्तै गुल्मी जिल्ला इस्मा गाउँपालिका ५ का युवराज भण्डारी र नुवाकोटकै राजन तामाङ समेत पक्राउ परेका छन्।

प्रहरीले उनीहरूका साथबाट चाइनिज पेस्तोल २ थान, सो पेस्तोलको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ४ राउन्ड समेत बरामद गरेको छ।
यसैगरी नक्कली सुन १ केजी, फलाम काट्ने औजार १ लुटिएका पर्स, एटिएम कार्ड र मोबाइल २ थान समेत बरामद गरेको बताएको छ। यसैगरी लुटिएको झोला, ७ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।