धनगढी- प्रदेश नं ७ मा प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरिएको छ।
आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ।
प्रदेशसभा सचिवालयलले प्रकाशित गरेको कार्यतालिकाअनुसार माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधको छानबिन हुनेछ।
यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरिएको ७ न प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए।
प्रदेश नं ७ मा सभामुखका लागि नेकपा (एमाले) की समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ। वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशमा प्रदेशसभाको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) को भागमा र सभामुख एमालेको भागमा परेको छ। डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ।
५३ सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसदको प्रतिनिधित्व रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।