नयाँ दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेकोे 'इक्जाम वारियर'(परीक्षाका योद्धाहरु) नामक पुस्तक सार्वजनिक भएको छ।
पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कम गर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन्।
भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो। भारतको ‘पेन्गुइन र्यान्डम हाउस’मा शनिबार सो पुस्तक विमोचन गरिएको हो।
विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको वार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ।
भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको वार्षिक परीक्षा सम्पन्न गर्ने गरी परीक्षा तालिका प्रकाशन गरिसकेको छ।
त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ।
भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ।
यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ।
यस्तो तनावलाई कम गर्न प्रधानमन्त्री मोदीले लेखेकोे सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।