डा प्रसाईं र डा दीक्षितलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै शिक्षामन्त्री, स्वास्थ्य राज्यमन्त्री तथा हेल्प पब्लिकेसनका अध्यक्ष।
काठमाडौं– स्वास्थ्य खबरपत्रिकाले नियमित रुपमा प्रदान गर्दै आइरहेको हेल्थ अवार्ड बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको छ। स्वास्थ्य खबरपत्रिका र नेपाल लाइभ डटकमको स्थापनाका अवसरमा अयोजित कार्यक्रममा विभिन्न ८ विधामा प्रदान गरिएको अवार्डबाट ९ जना सम्मानित भएका छन्। शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सम्मानितहरुलाई अवार्ड प्रदान गरेका छन्।
यस वर्ष उत्कृष्ट डाक्टरको अवार्ड गुल्मी अस्पताल तम्घासमा कार्यरत डा उत्तम पच्यालाई दिइएको छ। उनलाई अस्पतालमा सहज र सुलभ सेवा प्रवाह गरेबाफत दिइएको हो। उनले गुल्मी अस्पताल, तम्घासमा आक्कलझुक्कल हुने सिजेरियन सेक्सन नियमित बनाइदिएका छन्। त्यसबाहेक सानो घाउचोट लाग्दा वा एपेन्डिसाइटिस, हाइड्रोसिल जस्ता अप्रेसन गर्नुपर्दा छिमेकी जिल्लातिर कुद्नुपथ्र्यो। तर, अहिले यी सबै समस्याका लागि गुल्मीबासीको पहिलो गन्तव्य यही अस्पताल हुने गरेको छ। बाहिरका अस्पताल जानुपरेमा पनि उक्त अस्पतालका डा पच्या लगायतसँग परामर्श लिने गरेका छन्।
हाल अस्पतालको नेतृत्व गरिरहेका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पच्याले भइरहेको सेवामा नियमितता, आफूले गर्न सक्ने नयाँ सेवाको विस्तार र छिटोछरितो सेवाका लागि अस्पताललाई चिनाएका छन्।
यस पल्ट उत्कृष्ट अस्पतालको हेल्थ अवार्ड कटारी अस्पताल, उदयपुरले हासिल गरेको छ। अस्पतालप्रति टुटिसकेको बिरामीको भरोसा र विश्वास फेरि जगाउन सफल भएकोमा सो अस्पताललाई अवार्ड दिइएको हो। अस्तव्यस्त अवस्थामा गुज्रिएको कटारी अस्पतालको अहिले कायाकल्प भएको छ। यो क्षेत्रका मात्रै होइन, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुका बिरामी समेत यही अस्पतालमा उपचार गराउन आउँछन्। प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमध्ये एक मानिन थालेको छ।
पछिल्ला केही महिनादेखि सुरक्षित प्रसूति सेवामा सिजेरियन सेक्सन समेत थपिएको छ। नवजात शिशुका लागि एसएनसियु सेवा सुरु भएको छ। अल्ट्रासाउन्ड सेवा अस्पतालमै छ। ओपिडी व्यवस्थित छ। बिरामी भर्ना गरेर उपचार गराउनेको संख्या बढेको छ। दिनमै डेढ–दुई सय बिरामीले सेवा पाउन थालेका छन्। जम्मा १५ बेडको अस्पताल भए पनि अहिले सेवा सुविधाका हिसाबले ५० बेडको स्तरमा उक्लिन थालेको छ। अस्पतालको कायाकल्पमा डा गौरव साह र डा पवनको साहको भूमिका उल्लेखनीय छ।
हेल्थ अवार्ड २०१९ का लागि उत्कृष्ट सामाजिक संस्था नेपाल नेत्रज्योति संघ ठहरिएको छ। डा रामप्रसाद पोखरेलका नेतृत्वमा २०३५ चैत १३ गते नेपालका हरेक क्षेत्रमा आँखा अस्पताल स्थापना गर्ने उद्देश्यले स्थापना भएको थियो। नेत्रज्योति संघ अन्तर्गत हाल नेपालभरि १८ वटा आँखा अस्पताल र ८६ उपचार केन्द्र तथा विभिन्न किसिमका राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालित छन्। नेपालका सबै जिल्लाका स्कुल–स्कुलमा समेत कार्यक्रम चलिरहेका छन्।
संघका वर्तमान अध्यक्ष तीर्थप्रसाद मिश्रका अनुसार आँखा अस्पतालहरूबाट बर्सेनी २४ लाखभन्दा बढी नेत्र रोगीहरूलाई बहिरंग सेवा र करिब २ लाख ५० हजारभन्दा बढीलाई शल्यक्रिया सेवा प्रदान हुँदै आइरहेको छ। हालसम्म २ करोड ७७ लाख ३२ हजार १ सय ८६ नेत्र रोगीले बहिरंग सेवा लिएका छन् भने ३७ लाख २८ हजार ६ सय २२ जनाको आँखाको शल्यक्रिया गरिएको छ। यही योगदानले अवार्डका लागि छानिएको हो।
हेल्थ अवार्ड २०१९ मा उत्कृष्ट जनस्वास्थ्यकर्मी कुलत विरोधी अभियन्ता वसन्तमान श्रेष्ठ भएका छन्।
‘साइलेन्ट किलर’ मानिएको सूर्तिजन्य पदार्थको सेवन जुन दिनदेखि हानिकारक भन्ने अवगत उनलाई भयो, त्यही दिनदेखि यसका विरुद्ध सक्रिय छन्। संस्थागत र व्यक्तिगत रूपमा निरन्तर सूर्तिजन्य पदार्थ सेवनका विपक्षमा अभियान चलाइरहेका हुन्छन् उनी। हाल जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको वरिष्ठ स्वास्थ्य शिक्षा प्राविधिकका रूपमा कार्यरत उनी जहाँ पुग्छन्, त्यहाँ धूमपान विरुद्धको अभियान सञ्चालन गरेकै हुन्छन्।
उत्कृष्ट पारामेडिक्सको अवार्ड राजनकुमार थापालाई दिइएको छ। भौगोलिक हिसाबले विकट बाग्लुङको पश्चिम तमानखोला जान धेरै कर्मचारी र स्वास्थ्यकर्मीहरू कठिन ठान्छन्। तर, तिनै अप्ठ्यारालाई सहज बनाउँदै सेवा दिइरहेका उनी गाउँलेका प्यारा बनेका छन्। बोङ्गादोभान स्वास्थ्य चौकीका अहेबका रुपमा कार्यरत उनी बिरामीको समस्या बुझेर घरमै उपचार सेवासमेत दिन्छन्। आफूले गर्न नसक्ने उपचारका लागि तुरुन्त रिफर गर्छन्। सस्तो, सहज र राम्रो उपचारका लागि सल्लाह दिन्छन्।
उत्कृष्ट नर्स बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागको नेतृत्व गरिरहेकी निर्मला पण्डितलाई दिइएको छ। हेर्दा तीन सिफ्टमा चार जनाले ड्युटी गरिरहेको देखिन्छ। तर, पण्डित भने दिनरात ड्युटीमैै हुन्छिन्। त्यसका विभिन्न कारण छन्, एक त उनी माथिका भरोसाका कारण स्थानीय खोज्दै आउँछन्। दोस्रो, सुरक्षित प्रसूति सेवाका लागि दिइने ‘एसबिए’ तालिम चार जनामध्ये उनले मात्रै लिएकी छिन्। यसबाहेक सुरक्षित गर्भपतन, महिलाका लागि परिवार नियोजनका सामग्री राख्ने काम पनि उनीबाहेक अरूले गर्न सक्दैनन्। चौथो, सबैभन्दा सिनियर भएका कारण अरूले सहयोग माग्दा ‘ड्युटी होइन’ भनेर उम्किन पाइँदैन। उम्किन उनको स्वभावले पनि दिँदैन। त्यसकारण निर्मलाको पहिचान निरन्तर खट्ने कर्मचारीका रूपमा बनेको छ।
स्वास्थ्य स्वयंसेविकामा कलुदेवी खड्कालाई हेल्थ अवार्डबाट सम्मान गरिएको छ। उमेरले आफैं अरूबाट स्याहारिनुपर्ने अवस्थामा पुगिसकेकी ६८ वर्षीया खड्का अझै गाउँठाउँको सेवा गर्नमै व्यस्त छिन्। डडेल्धुरा जिल्लाको उत्तर–पश्चिममा पर्ने अजयमेरु गाउँपालिका–६ स्थित गालगाउँ सदमुकामबाट दुई घन्टाको पैदल दुरी र बैतडीको मेलैलीको सिमानामा पर्छ। त्यही गाउँकी महिला स्वास्थ्य स्वयंसेविका हुन्, कलुदेवी। २३ वर्षदेखि यो गाउँमा कोही बिरामी पर्दा सल्लाह लिइने पहिलो व्यक्ति उनै हुन्।
आइओएमका दुई खम्बा मानिएका डा भीष्म प्रसाईं र डा हेमाङ्गमणि दीक्षितलाई यस पल्ट स्वास्थ्य खबरपत्रिकाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिएको छ। चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) नेपालको मात्रै होइन, दक्षिण एसियामै राम्रो चिकित्सा अध्ययन केन्द्रका रूपमा सुपरिचित छ। यसको इतिहास धेरै पुरानो छैन। यसको जग हाल्ने मात्रै होइन, खम्बा बनेर काँध थाप्नेहरूमध्ये पर्छन् उनीहरू।
आइओएम स्थापनासँगै काम गर्ने मात्र नभई नेपालमै पहिलोपल्ट एमबिबिएसको पाठ्यसामग्री निर्माण गर्ने व्यक्ति हुन्। आइओएमका डिनसमेत भइसकेका उनीहरूले एमबिबिएस अध्ययनका लागि नेपालमा खुलेका निजी मेडिकल कलेजहरूको गुणस्तर उकास्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरूको संघर्ष, प्रयास र दक्षताले नै नेपालमा चिकित्सा शिक्षाको अवस्था यहाँसम्म आइपुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।