गौशाला- महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए। प्रहरीले बर्दिबास–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलबाट हमाल र मल्ललाई तीन थान भरुवा बन्दुकसहित तथा बर्दिबास–३ पाटुस्थित आफ्नै घरबाट कालीकोटेलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
उनीहरुले हतियार राखेर आपराधिक गतिविधि गर्दै आएको सुराकीका आधारमा प्रहरी तीनै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएको जनाइएको छ। अभियुक्त तीनै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।