बुटवल- माघ २१ गते हुने प्रदेश नम्बर ५ को प्रथम अधिवेशनका लागि संसद बैठकको तयारी तीव्र रुपमा अघि बढाइएको छ।
बुटवल उद्योग वाणिज्य संघको सभाहल सजाउने काम भने ढिला गरी बुधबारबाट मात्रै सुरु भएको हो। बैठकका लागि यो भवनमा अहिले कुर्सी मिलाउने तथा साउन्ड स्टिमका लागि वायरिङको काम चलिरहेको छ। बैठक हुने सभाबाहिरको स्थलमा पनि रङरोगनको काम सुरु भएको छ।

प्रमुख सचिव शंकर पाठक सहितका कर्मचारी र संसद सचिवालयका कर्मचारी बुटवल आइसकेका छन्।
पहिलो बैठकलाई ऐतिहासिक बनाउन सबै दल, संघसंस्था तथा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने संसद सचिवालयले जनाएको छ। पहिलो बैठकका तयारीका लागि संघीय संसदका सहसचिव सुरेन्द्र अर्याल नेतृत्वको चार सदस्यीय टोली तीन दिनअघि नै बुटवलमा आएर काममा जुटेको छ।

अर्यालले पहिलो बैठकमा के प्रस्ताव लैजाने र त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन्।
प्रदेश ५ को संसद सचिवालयका लागि बुटवल उद्योग वाणिज्यको भवन र बैठकका लागि सभाहल प्रयोग गरिएको छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।