नयाँ दिल्ली- भारतको पूर्वी उडिसा राज्यका ३ विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका बिरामी भएका छन्।
झन्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार विहानै अस्वस्थ महसुस गरेका थिए। बिहानको खाजा खानेबित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।
सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडि परिएका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका छन्।
बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएका छन्। गत २४ घन्टाको अवधिमा विषाक्त खानाका कारण बिरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउँसोको खाना खाएपछि १२० भन्दा बढी विद्यार्थी बिरामी भएका थिए।
विगत केही बर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ। भोकमरी र कुपोषण न्युनीकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो।
गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा बिरामी भएकामध्ये २२ बालबालिकाको मृत्यु भएको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।