काठमाडौं- 'नाडा अटो शो २०१९' मंगलबारबाट सुुरु भएको छ। अटो शोको यो संस्करणमा हाइब्रिड कारसमेत नेपाल भित्र्याइएको छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड कारमा साविकमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। यसले हाइब्रिड कारको मूल्य कम भएको छ।
सरकारले इन्धनको आयात कम गर्ने र सवारी प्रदुषण न्यूनीकरण गर्ने उद्देश्यले पहिलो पटक बजेटमार्फत हाइब्रिड कारमा छुट दिइएको हो। टोयोटाले सरकारले दिएको सुविधा उपयोग गर्दै दुईवटा हाइब्रिड कार बजारमा ल्याएको हो।
नाडा अटो शोमा टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटाका दुई हाइब्रिड कार सार्वजनिक गरेको हो। टोयोटाको क्याम्री र र्याभफोर हाइब्रिड कार बजारमा आएको छ। टोयोटा क्याम्रीको नेपाली बजार मूल्य १ करोड ३१ लाख रुपैयाँ रहेको छ भने र्याभफोरको मूल्य १ करोड ३४ लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले ३ वटा मोडलका स्मार्ट हाइब्रिड कार बजारमा ल्याएको छ। कम्पनीले सियाज, इर्टिगा र एस–क्रस स्मार्ट हाइब्रिड कार नेपाल भित्र्याएको हो। सुजुकीले ल्याएको सियाज स्मार्ट हाइब्रिडको सुरुवाती मूल्य ३८ लाख २९ हजार रुपैयाँ तोकिएको छ। यो सुजुकीको मिडसाइज सेडान कार हो।

इर्टिगा स्मार्ट हाइब्रिडको मूल्य ३८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीको भनाइ छ। कम्प्याक्ट एसयुभी सेगमेन्टको सुजुकी एस–क्रस स्मार्ट हाइब्रिडको सुरुवाती मूल्य ४२ लाख ९९ रुपैयाँ रहेको छ।
'नाडा अटो शो २०१९'मा टोयोटा र सुजुकीका स्मार्ट हाइब्रिड कार उपलब्ध छन्। अटो शोमा पहिलोपटक हाइब्रिड कार प्रदर्शनीका लागि राखिएकाले दुबै ब्रान्डका सवारीमा उपभोक्ताको आकर्षण रहेको कम्पनीहरुले जनाएका छन्।
मंगलबारबाट सुरु भएको अटो शो आगामी आइतबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।