काठमाडौं– भक्तपुरमा एक प्रहरी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार दिउँसो महानगरीय प्रहरी प्रभाग दधिकोटमा कार्यरत सिपाही उमेश कुमार थापालाई १८ हजार घुससहित पक्राउ गरेको हो।
उनले एक साताअघि भएको एक दुर्घटनामा मिलापत्र गराएर कम मात्र क्षतीपुर्ती तिराएको भन्दै घुस मागेका थिए।
टिपरले स्कुटरलाई ठक्कर दिएको थियो। दधिकोट प्रहरीले दुवै चालकलाई कार्यालयमा लगेर छलफल गराएको थियो। सुरुमा स्कुटरधनीले २ लाख क्षतीपुर्ती मागेका थिए। पछि ८० हजार रुपैयाँमा कुरा मिलेको थियो। २ लाख तिर्नुपर्नेमा ८० हजारमा कुरा मिलाइदिएको भन्दै उनले टिपर चालकसँग पैसा माग्दै आएका थिए।
चालकले अख्तियारलाई खबर गरेर घुस दिएका थिए। लगत्तै आयोगको टोलीले उनलाई भक्तपुरको राधेरोध नजिकै पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।