काठमाडौं- गाडीहरुको कुम्भमेला मानिँदै आएको नाडा अटो शो मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। शोमा गाडी बिक्रेता कम्पनीले मात्र नभई बैंकहरुले पनि केही प्रतिशत छुटमा कर्जा उपलब्ध गराइरहेका छन।
११ वटा वाणिज्य बैंक र एउटा विकास बैंकको सहभागिता रहेको मेलामा फाइनान्सिङ र कर्जामा ब्याजदरका विषयमा बुझ्न आउने अवलोकनकर्ताहरुको संख्या उल्लेख्य देखिएको छ।
अटो वा हायर पर्चेज कर्जाका रुपमा बैंकहरुले प्रवाह गर्ने कर्जामा ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था छ भने अटो शोका लागि भनेर नै ब्याजदरमा केही छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ को अर्धवार्षिक समीक्षा गर्दै प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नुपर्ने व्यवस्था गरेको थियो। यस कारण फाइनान्सिङमा सबै बैंकहरु उस्तै देखिएका छन्। तर ब्याजदरमा भने प्रतिस्पर्धा देखिन्छ।
बैंकहरुले मौद्रिक नीतिको प्रावधान अनुरुप नै कर्जा प्रवाह गरेपनि न्युन ब्याजदरले ग्राहक तानेको बुझ्न सकिन्छ। सजिलै कर्जाको अफर, शून्य प्रिमियम कर्जा तथा ब्याजदरमा पनि केही छुट पाएपछि बैंकका स्टलहरुमा ग्राहक थप आकर्षित भएका हुन्। केही बैंकहरुले न्यून प्रिमियम राखेर ब्याजदर निर्धारण गरेका छन् भने केहीले शून्य प्रिमियममा पनि सेवा दिइरहेका छन्। अधिकांश बैंकहरुको सेवाशुल्क शून्य दशलमव ७५ प्रतिशत बराबर देखिन्छ।
कर्जा चुक्ता गर्ने समायावधिमा देखिएको अन्तरले ब्याजदरमा पनि केही असर पार्ने भएपछि मासिक किस्ता भुक्तानीमा पनि सहज हुने देखिएको छ। यसरी कर्जा अवधिमा पनि बैंकहरुबीच प्रतिस्पर्धा नै देखिन्छ।
कुनै समय ७ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेका बैंकहरुले तरलता अभावको समस्या पछि भने १२ देखि १५ प्रतिशतसम्म पुर्याएको थिए। तर तरलता समस्या हट्दै गएपछि कर्जा ब्याजदरमा पनि कमी आउन थालेको हो। त्यसको उदाहरणका रुपमा अटो शोका क्रममा बैंकहरुले कर्जामा ९ देखि ११ प्रतिशतसम्म उपलब्ध गराएको ब्याजदरलाई लिन सकिन्छ।
२०७४ सालको नाडा नाडा अटो शोमा बैंकहरुले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिएका थिए भने न्यूनतम ब्याजदर ६ दशमलव २५ प्रतिशतसम्म रहेको थियो। तर बैंकहरुमा लगानीयोग्य रकमको अभावलाई कम गर्न भन्दै डाउन पेमेन्ट ५० प्रतिशतमा झारेपछि गत वर्षको नाडा अटो शोमा गाडी खरिद गरेकाहरुले बैंकहरुको बढ्दो ब्याजदरको कारण तिर्दै आएको मासिक किस्ता (इएमआई) पछि बढेको थियो। तर अहिले तरलता अभावको समस्या सल्टिएपछि र नाडा अटो शोकै लागि भनेर कुनै स्किम बनाएर कर्जामा ब्याजदर घट्छ कि घट्दैन भन्ने चासो पनि अवलोकनकर्तामा देख्न सकिन्थ्यो।
.jpg)
बैंकहरुले भने बैंकबाट ऋण लिएर गाडी किन्नेले तिर्नुपर्ने इएमआई डाउन पेमेन्ट बढेको अवस्थामा स्वतः घट्ने भएपछि ब्याजदरमा स्थिरता हुने भन्दै आस्वस्त पारिरहेका थिए।
विद्युतीय गाडीमा बढी सुविधा
अटो शोमा विद्युतीय गाडी खरिदमा बैंकहरुले दिइरहेको सुविधालाई पनि अवलोकनकर्ताले चासोका साथ हेरिरहेका छन्।
मौद्रिक नीति अनुसार नै विद्युतीय सवारी साधनमा कर्जाको सीमा ८० प्रतिशत रहेको छ भने विद्युतीय सवारीको खरिदमा ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्छ। उदाहरणका लागि ५० लाख मूल्य पर्ने गाडी खरिदमा ग्राहकले १० लाख मात्र डाउन पेमेन्ट गर्नुपर्छ।
चाखलाग्दो कुरा त के भने सबैजसो बैंकहरुले इन्धनबाट चल्ने सवारीसाधनमा भन्दा विद्युतबाट चल्ने सवारीसाधनको खरिदका लिने ऋण तथा फाइनान्सिङको सुविधामा ब्याजदर कम राखेका छन्। ब्याजदर र डाउन पेमेन्ट दुवै कम भएको कारण थोरै रकम भएर गाडी चढ्न चाहने उपभोक्ताका लागि विद्युतीय सवारी साधन पहिलो रोजाइमा पर्ने देखिन्छ।
ग्राहकहरुले हायर पर्चेज र सवारी कर्जा मात्र नभई बैंकहरुले बचतमा दिने ब्याजदर र घर जग्गा कर्जा, शैक्षिक कर्जा लगायत अन्य कर्जामा पनि सेवा लिइरहेका थिए। सम्बन्धित बैंकहरुले आफ्नो स्टल मार्फत कर्जामा ब्याजको प्रतिशत, कर्जा अवधि, डाउन पेमेन्ट, सेवा शुल्कमा छुट लगायतका जानकारी अवलोकनकर्ताले पाउनेछन्।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।