काठमाडौं- कमोडिटी डेरिभेटिभ (वस्तु बजार) सञ्चालन गर्न आवेदन दिनेको संख्या ज्यादै न्यून रहेको छ।
नयाँ विधेयक पारित भएसँगै सञ्चालनका लागि अनुमतिपत्र माग गरिएकोमा हालसम्म एक कम्पनीले मात्रै आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
बोर्डका अनुसार हालसम्म नेपाल कमोडिटी एक्सचेञ्ज लिमिटेडले मात्र आवेदन दिएको छ। कम्पनीले जी मेक्स ग्रुप बेलायतको विदेशी रणनीतिक साझेदारीमा आवेदन दिएको हो।
जी मेक्स ग्रुपले ५१ प्रतिशतसम्म सेयर पाउने साझेदारी गरेको छ। वस्तु बजार विधेयकमै विदेशी रणनीतिक साझेदारले ५१ प्रतिशतसम्म सेयर पाउने व्यवस्था छ।
बोर्डका अनुसार, सञ्चालन भइरहेका वस्तु बजारका कम्पनीहरुले पनि सञ्चालन अनुमतिको लागि आवेदन दिनुपर्नेछ। तर, हालसम्म कुनै पनि सञ्चालित कम्पनी आवेदन दिन नआएको बोर्डले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी बलियो नभएर अनुमति माग्न नआएका बोर्डका कानुन निर्देशक मुक्तिनाथ श्रेष्ठले बताए।
उनले भने, ‘तोकेको पुँजी पुर्याउन समस्या भएपछि सञ्चालित कम्पनीहरु पनि आवेदन दिन नआएका हुनसक्छन्।’
वस्तु बजार सम्बन्धी विधेयक पारित भएसँगै चुक्ता पुँजी ५० करोड हुनुपर्ने भएको छ।
विधेयकले बजार सुपरीवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई तोकेको छ। नयाँ वस्तु बजार कम्पनी सञ्चालन र पुरानालाई निरन्तरता दिन बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था छ।
नेपालमा सन् २००६ देखि सञ्चालनमा रहेको कमोडिटी डेरिभेटिभ बजारको पहिलो पटक सरकारले कानुन बनाएर नियमन गर्न विधेयक तयार पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।