सुर्खेत- सुर्खेतको प्रमुख पर्यटकीय स्थलहरुमध्ये एक हो, बराहताल। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ मा अवस्थित यो तालमा आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना छन्।
स्थानीयहरुका अनुसार ताल करिब १६ बिघा क्षेत्रफलमा फैलिएको छ। भेरी नदीको करिब १ सय ५० मिटर उचाइमा रहेको तालमा विभिन्न समयमा अनौठा प्रजातिका चराहरु देख्न सकिन्छ।
जिल्ला सदरमुकाम वीरेन्द्रनगरबाट बराहताल गाउँपालिका वडा नं ४ स्थित भेरी नदीकिनारसम्म सवारी साधन पुग्छ। त्यसपछि करिब आधा घन्टा पैदल हिँडेपछि बराहताल पुगिन्छ। वरिपरि अग्ला डाँडाले घेरिएको जंगलको बीचमा रहेको ताल निक्कै सुन्दर छ। तालको छेउछाउँमा जलकुम्भी लगायतका झारले भने ताललाई केही अशोभनीय बनाएको छ।
तालको बीचमा चराहरु पौडिरहेका दृश्यले आनन्दित बनाउँछ। स्थानीयका अनुसार तालमा कुनै फोहोर भएमा, पातहरु झरेमा चराहरुले नै सफा गर्दछन्। स्थानीय मायाराम कठायतले भने, ‘शरीरमा रौं नभएका चराहरु तालमा पौडिरहेको दृश्य निकै रोमाञ्चक देखिन्छ।’

कसरी भयो उत्पत्ति ?
तालको उत्पतिको बारेमा भने यहाँका स्थानीयवासीहरुको फरक फरक धारणा पाइन्छ। कतिपयका अनुसार करिब २ सय ५० देखि २ सय ८० वर्षपहिले पृथ्वीनारायण शाहले २२ राज्य एकीकरण गर्दा दैलेख, जाजरकोट लगायतका राज्यका भुरे टाकुरेहरु भागेर यहाँ आएका थिए। राती सपनामा ‘बहार’ देवता प्रकट भई आफ्नो शरणमा आएकाले ‘तिमीहरुको सुरक्षा म गर्छु’ भनेपछि उनीहरुले ती देवताको पूजा गर्न थाले। त्यसपछि त्यहाँ ताल उत्पन्न भएको भनाइ एकथरीको छ।
तर अर्काथरीको भनाइ अनुसार धेरै वर्षपहिले अहिले ताल भएको ठाउँमा खुला मैदान थियो। सो मैदानमा ५ घर राजीहरु बस्दथे। राजीहरुले उक्त ठाउँमा फोहोर गरेपछि तालको पूर्वतर्फ रहेको भीरबाट एउटा वाणी आयो, ‘तिमीहरु यो ठाउँ छोडेर जाऊ।’ तर राजीहरुले त्यसको प्रतिकार गर्न खोजेपछि त्यही भीरबाट पानीको भेल आयो। त्यही भेलले पुरेर अरु राजीहरुको मृत्यु भयो तर एक जना भागेर बाँच्न सफल भए। त्यसपछि त्यहाँ ताल उत्पन्न भएको हो भन्नेहरु पनि भेटिन्छन्।

संरक्षणको पखाईमा
उत्पत्ति जे जसरी भए पनि ताल निकै आकर्षक छ। तर संरक्षण र संवर्द्धनको अभाव, खहरे खोलाले बगाएर ल्याउने माटोले पुरिँदै जानु, किनारका रुखहरु ढलेर कुरुप बनाउनुका साथै जलकुम्भी, लेउ, पटारो जस्ता झारहरुले तालको सुन्दरतामा ह्रास ल्याएका छन्।
पशुचरण र वन विनाशले ताल वरिपरिको जंगल उजाड बन्दै गएको छ। यातायातको सहज पहुँच छैन।
ऐतिहासिक तथा पुरातात्विक र पर्यटकीय सम्भावना बोकेको रमणीय यस बराहतालको संरक्षण, पर्यटन प्रवर्दन, भौतिक पूर्वाधार विकास गर्न सकेको खण्डमा समग्र सुर्खेत जिल्लाकै पहिचान दिन सफल हुने स्थानीय बलबहादुर कठायतको भनाइ छ।

'हामी संरक्षण गछौं'
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत अब बराहताल बेवास्ताको सिकार हुनु नपर्ने बताउँछन्। ‘विगतमा सबैले बेवास्ता गर्दा यो ताल ओझेलमा परेको हो,’ उनले भने, ‘तर अब हामी यसको संरक्षण, प्रचार गरी पर्यटकीय गन्तव्य बनाउँदै छौं।’
उनले बराहतालसम्म पुग्ने बाटो निर्माणका लागि यस वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिसकिएको जानकारी दिए। यसका साथै आगामी फागुन पहिलो साता बराहतालमा महोत्सव समेत सञ्चालन गरिँदैछ। गाउँपालिकाकै आयोजनामा बराहतालको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको उनी बताउँछन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।