एजेन्सी- उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट जापानका नागरिकहरु आतंकित छन्, सुरक्षित स्थानको खोजीमा छन्। यस्तो अवस्थामा जापानी भूगोल भएर उड्ने हवाईजहाजका यात्रु कति सुरक्षित छन्?
पूर्व सूचना नदिएर जापानी आकाशमाथि प्योङयाङबाट बारम्बार क्षेप्यास्त्र प्रहार गर्दा धेरै हवाई यात्रुले गर्ने प्रश्न हो यो। शुक्रबार ओस्का अवरतण गरेका जापानी नागरिक आफूलाई भाग्यशाली भन्दै ट्विटमा लेख्छन्, 'प्लेनमा हुँदा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्यो भन्ने सुनियो, धन्न धर्तीमा अवरतण गर्न पाएँ।'
जानकारहरुका अनुसार क्षेप्यास्त्रका कारण हवाईजहा दुर्घटनाको सम्भावना न्युन छ तर खतरा जरुर छ। 'यात्रुबाहक हवाईजहाजमा क्षेप्यास्त्र ठोक्किए अमेरिकी सेनाको आक्रोशित आक्रमणले भयावह स्थिति सिर्जना गर्छ,' दक्षिण एसियाली सुरक्षा विज्ञ विपिन नरङ भन्छन्।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले व्यावसायिक उडान भरिरहेका हवाईजहाज कम्पनीले खतरा महसुस गरेका छन्। क्षेप्यास्त्र परीक्षण गर्दा सम्बन्धित इलाका भएर उड्ने हवाईजहाजलाई अन्य रुटबाट उडान गर्न जानकारी गराउने चलन छ। उत्तर कोरियाले भने बिना कुनै जानकारी क्षेप्यास्त्र परीक्षण गर्छ।
अन्तर्राष्ट्रिय हवाई उड्डयन प्राधिकरणसँग उत्तर कोरियाको पनि पहुँच छ। जहाँबाट उत्तर कोरियाली वैज्ञानिकले कुन दिशाबाट कम संख्यामा हवाईजहाज आइरहेका छन् त्यो पत्ता लगाउन सक्छन्।
'प्योङयाङ क्षेप्यास्त्र परीक्षणबाट क्षति नपुगोस् भन्नेमा सचेत छ, अहिलेसम्म उसले पहुँचको फाइदा उठाउँदै क्षेप्यास्त्र परीक्षण गरिरहेको छ,' डिप्लोम्याटका उप सम्पादक अंकित पाण्डे भन्छन्।
उत्तर कोरिया सचेत भए पनि खतरा अझै छ। क्षेप्यास्त्रको रुट परिवर्तन भई व्यस्त रुटमा प्रवेश गरेमा प्लेन ध्वस्त हुनेछ भने क्षेप्यास्त्र बीचमै टुक्रिएर त्यसको ज्वाला हवाईजहाजमा परे प्लेन खरानी हुनेछ।
जापानी रुटबाट उड्ने विमानको संख्यामा कमी गर्दा क्षेप्यास्त्र परीक्षणका लागि सहज हुने मनसायले उत्तर कोरियालीले जापान लक्षित परीक्षण बढाइरहेको छ।
हवाईजहाज कम्पनी सतर्क
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट खतरा महसुस गर्दै केही विमान कम्पनीले सतर्कता अपनाएका छन्। गत अगष्टमा एयर फ्रान्सले उत्तर कोरिया र होकाइडो टापु वरपरका क्षेत्रलाई उडान रहित इलाका घोषणा गर्दै त्यो क्षेत्रबाट यात्रा गर्नै छोडिसकेको छ।
एयर फ्रान्सले जापान आउने रुट परिवर्तन गरेको छ। होकाइडो क्षेत्रबाट आउन छोडेपछि हवाई यात्रा ३० मिनेटसम्म लम्बिएको छ।
विमान कम्पनीहरु युक्रेनमा मलेसियन एयरलान्सको नियति भोग्न नपरोस् भन्ने चिन्ता प्रकट गरिरहेका छन्। युक्रेनमा एमएच १७ विमानमा क्षेप्यास्त्र ठोकिँदा ध्वस्त भएको थियो। कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गए विमान कम्पनीहरुले जापान उडान गर्ने रुट कटौती गर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।