काठमाडौं- स्कुलबाट फुलचोकीमा हाइकिङ गएका जोन तामाङ बेपत्ता भएपछि उनको परिवारमा केही दिनयता रुवाबासी छायो। शुक्रबारदेखि नै दैनिकजसो प्रहरी, सशस्त्र प्रहरी र सेनाले फुलचोकीमा खोज्दा पनि जोन भेटिएनन्।
दैनिक रुपमा सेना र प्रहरीको टोली खोज्न त जान्थ्यो तर रित्तै फर्कन्थ्यो। सुरक्षाकर्मीहरुसँग तामाङका आफन्तहरु आँखाभरि आँसु लिएर फुलचोकीबाट झर्थे। तर, उनीहरुले आशा मारिसकेको थिएन– जोनलाई सकुशल पाउनेछौं।
जोनलाई खोज्न थालेको सातौं दिन बुधबार भने उनीहरुको मुहारमा एकाएक खुसी उर्लिएर आयो, त्यो आँखाबाट व्यक्त भइरह्यो।
गत बिहीबार हराएका जोन बुधबार दिउँसो एक खोँचमा फसेको अवस्थामा सकुशल भेटिएका छन्। उनलाई फेला पार्ने व्यक्ति हुन् चन्द्र आले।
हिमाली क्षेत्रमा उद्धारकर्ताको रुपमा काम गर्दै आएका उनै आलेले तामाङ परिवारको मुहारमा खुसी फर्काएका हुन्। उद्धारमा उनीसँगै रामकाजी तिवारी पनि गएका थिए। आलेका अनुसार, लाकुरीभञ्ज्याङतर्फ खोज्ने क्रममा एउटा झोला भेटिएको थियो। त्यो झोला तामाङकै भएको उनीहरुको आशंका थियो। त्यहाँ चिप्लिएर लडेको जस्तो देखिन्थ्यो। तामाङ नै तल खसेको हुनसक्ने आशंकामा तल गएर हेर्दा उनलाई बसिरहेको अवस्थामा फेला पारिएको हो। पानी र बिस्कुट खुवाएर उनलाई बोकेर सडकसम्म ल्याएको उनले बताए।
उद्धार गरिएका जोनको बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ। छोरो भेटेपछि आमाले खुसी हुँदै भनिन्, 'तपाईंहरुको आशीर्वादले नै मेरो छोरो आज जीवित भेटिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।