काठमाडौं– अभिभावकहरुसँग चर्को शुल्क असुलेको आरोपमा राजधानीका ठूला विद्यालयहरुमाथि छानबिन सुरु भएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विद्यालयहरुमाथि छानबिन थालेको हो।
रातो बंगला, जेम्स, चाँदबाग, प्रिमियर इन्टरनेसनल लगायत विद्यालयहरुमाथि छानबिन सुरु भएको हो। प्रारम्भिक अनुसन्धानमा ती विद्यालयले अस्वाभाविक शुल्क लिँदै आएको विभागका महानिर्देशक कुमार दाहालले बताए। उजुरीका आधारमा एक दर्जन ठूला विद्यालयहरुमाथि छानबिन भइरहेको उनले जानकारी दिए।
विभागका अनुगमन अधिकृतहरुले सम्बन्धित विद्यालयहरुमा अनुगमन गरी शुल्कसम्बन्धी सबै विवरण लिएर छानबिन थालेका हुन्।
‘जेम्स स्कुलले भर्ना र धरौटी नै प्रतिविद्यार्थी ४० हजार रुपैयाँ लिँदो रहेछ’, विभागका एक अधिकृतले भने, ‘२ हजार विद्यार्थीहरुसँग भर्नावापत नै ८ करोड रुपैयाँ असुली हुँदोरहेछ।’
अन्य स्कुलहरुले पनि त्यसरी चर्को शुल्क असुल्दै आएको विभागका अधिकारीहरु बताउँछन्।
त्यस्तै, विभिन्न शीर्षकका अनावश्यक रुपमा स्कुलहरुले अभिभावकहरुसँग शुल्क लिँदै आएको विभागको छानबिनमा खुलेको छ। हाल कागजपत्र छानबिनकै क्रममा रहेको र त्यसपछि स्कुलका सञ्चालकलाई बयानका लागि बोलाउने विभागको तयारी छ। चर्को शुल्क लिने विद्यालयका सञ्चालक विरुद्ध मुद्दा नै चलाउने विभागको तयारी छ।
विद्यालयहरुले अभिभावकहरुलाई शोषण गर्दै आएको उजुरी बढेपछि विभागले छानबिन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।