हेटौंडा- प्रदेश ३ को प्रदेशसभाको प्रथम अधिवेशन बिहीबार दिउँसो १ बजेबाट हेटौंडाको सभागृहमा सुरु हुने भएको छ।
सभागृहमा कुर्सी सजावट, माइक व्यवस्था, प्रदेश सभामुख रहने स्थान र सचिवालयका सचिवहरु बस्ने कार्यकक्ष तोकिसकिएको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिए।

प्रदेशसभाको अधिवेशनको प्रथम बैठकमा कार्यवाहक सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले बोलाएको बैठकको पत्र, आन्तरिक कार्यविधिको प्रस्तावना र संवैधानिक रुपबाट सभामुखको निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने प्रदेश सचिवालयका सहसचिव डा रोजनाथ पाण्डेले सञ्चारकर्मीलाई जानकारी गराए।
पाण्डेका अनुसार, हाल अस्थायी रुपमा दललाई पहिलो, दोस्रो, तेस्रो र चौथोका रुपमा स्थान तोकिने कार्यतालिका रहेको र बिहीबार १:३० बजेतिर अधिवेशनको समय निर्धारण गरिएको बताए।
प्रदेशसभाका कुल १ सय १० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्याइएको संसद् सचिवलायले जनाएको छ। बाहिरी जिल्लाबाट आउने सञ्चारकर्मीको लागि संसद् परिषदभित्र डिस्प्लेमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको पनि सचिवालयले जानकारी दिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।