क्विटो- कोलम्बियाको नेसनल लिबरेसन आर्मीका छापामारहरुले अवरुद्ध भएको शान्तिवार्ता पुनः सुरु गर्न मंगलबार फेरि आग्रह गरेका छन्।
ट्विटरमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनीहरुले आफूहरुको आग्रहलाई सरकारले सुन्ने विश्वास पनि व्यक्त गरेका छन्।
इक्वेडरको राजधानी क्विटोमा पछिल्लो पटक भएको वार्ताका क्रममा सहमति भएको विषयलाई स्मरण गर्न समेत उनीहरुले ध्यानाकर्षण गराएका छन्।
पछिल्लो वार्तामा ‘नयाँ र उत्तम दुईपक्षीय युद्धविराम गर्ने सहमति’ भएको उनीहरुले वक्तव्यमा उल्लेख गरेका छन। यसअघि दुवै पक्षले गत जनवरी ९ तारिखका दिन युद्धविरामको घोषणा गरेका थिए।
कोलम्बियाको उत्तरी क्षेत्रमा रहेको प्रहरी कार्यालयमा तीन वटा बम आक्रमणमा परी सातको मृत्यु र दर्जनौं घाइते भएपछि राष्ट्रपति जोन म्यानुएल सान्तोषले सोमबार शान्तिवार्तालाई पछाडि सारिएको घोषणा गरेका थिए।
छापामार लडाकुहरुको भनाइ र गराइका बीचमा तालमेल मिलेपछि मात्रै शान्तिवार्तालाई निरन्तरता दिने उनले बताएका थिए। उनले विद्रोही समूहका विरुद्धमा ‘उच्च मनोबल’का साथ कारबाहीमा उत्रिन सरकारी सुरक्षाकर्मीहरुलाई निर्देशन पनि दिएका छन्।
यसका साथै राष्ट्रपतिले पाँच दशकदेखिको द्वन्द्व अन्त्यका लागि समझदारीमा पुग्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।