बुटवल– निर्माण सामग्रीको मूल्यवृद्धिको विरोध गर्दै आएका निर्माण व्यवसायीले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
छड, सिमेन्ट लगायत सामग्रीको मूल्य अस्वाभाविक रुपमा बढ्दा ठेक्कामा लिइसकेका आयोजना सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै निर्माण व्यवसायीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी महासंघले उद्योगले अप्राकृतिक र अप्रत्यासित रुपमा गरेको मूल्यवृद्धिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
निर्माण सम्पन्न भइसकेका परियोजनाको सरकारबाट भुक्तानी प्राप्त नहुँदा व्यवसायीहरु मारमा परेको भन्दै सरकारले यसबारे छिटै निर्णय गर्नुपर्ने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले बताए।
निर्माणको क्रममा रहेका आयोजनालाई निरन्तरता दिन मूल्यवृद्धिको आधारमा दररेट कायम नगरे काम ठप्प पार्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले बताए। वृद्धि भएको मूल्यले १० करोडको आयोजनाको लागत १२ करोड पुग्ने अवस्था आएको उनले बताए।
मूल्य समायोजनमा सम्बन्धित निकायको ध्यान नगए फागुन पहिलो सातादेखि निर्माणको काम ठप्प पार्ने व्यवसायीरुले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।