काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि युएईमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित पारेको छ। नेपालले बुधबार भएको दोस्रो अभ्यास खेलमा यूएई 'ए' टिमलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमा १ सय ४० रनमा अलआउट भयो। युएईको इनिङ सस्तोमा समेट्ने क्रममा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले ४ विकेट लिए। यस्तै कप्तान पारस खड्काले २ विकेट लिए। शक्ति गौचन र सोमपाल कामीले १–१ विकेट हात पारे।
युएईका लागि मोहमद क्वासिमले ४१ रन जोडे भने अलि मिर्जाले १७ रन र चिराग सुरीले १८ रन बटुले।
त्यसअघि दुबईस्थित आइसिसी ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनायो। उपकप्तान ज्ञानेन्द्र मल्लको १ सय ५४ रनको उत्कृष्ट पारीसँगै नेपालले उच्च स्कोर बनाएको हो। उनले १ सय ३१ बल खेलेर १७ चौका प्रहार गरे।
१ सय ४२ रन बनाउँदा पहिलो विकेटको रुपमा दिलीप नाथलाई ६४ रनमा गुमाएको नेपालका लागि आरिफ शेखले नटआउट ४१ रन बनाए। दिलीपले ७९ बलमा ६ चौका र २ छक्का तथा आरिफले ३३ बलमा २ चौका हिर्काए। दिपेन्द्रसिंह ऐरी ३४, अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किए।
बलिङतर्फ युएईका वासिफ अहमेद, कार्तिक मायाप्पन र लक्ष्मण श्रीकुमारले १–१ विकेट लिए।
सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले २५ रनको जित निकालेको थियो।
माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुने ६ वटै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन्। डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाल माघ २१ गते युएईबाट नामिबिया प्रस्थान गर्नेछ। माघ २५ गतेदेखि सुरु हुने डिभिजन–२ मा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।