काठमाडौं- भारत प्रशासित जम्मू-काश्मीरबारे जानकारी गराउँदै पाकिस्तानले नेपालको भूमिका खोजेको छ। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत काश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन्।
भारतीय विदेशमन्त्री एय जयशंकर नेपालको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले टेलिफोनमार्फत काश्मीर मामिलामाबारे जानकारी गराउँदै नेपालसँग सहयोग मागेका हुन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्षका रुपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि काश्मीरको अवस्थालाई सहज बनाउन भारतलाई दबाब दिन पाकिस्तानले नेपाललाई आग्रह गरेको हो।
‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि सार्क अध्यक्षका रुपमा आफ्नो भूमिका निर्वाह गर्न र भारत प्रशासित जम्मू-काश्मीरका जनताको पीडा कम गर्न भारतमाथि दबाब बढाउन विदेशमन्त्रीले नेपाललाई आग्रह गर्नुभयो,’ पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालको परराष्ट्र स्रोतले पनि त्यसलाई पुष्टि गरेको छ। ‘पाकिस्तानी विदेश मन्त्रीको त्यस्तो आग्रहको प्रतिउत्तरमा मन्त्री ज्ञवालीले नेपालले जम्मू-काश्मीरको अवस्थालाई नजिकैबाट नियालिरहको शान्तिपूर्ण माध्यामबाट विवाद समाधान गर्न निरन्तर आग्रह गरेको स्मरण गर्नुभयो,’ मन्त्रालय स्रोतले भन्यो।
गत ६ अगस्टमा भारतमा नेरन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मू-काश्मीरले यसअघि पाएको विशेष स्वायत्तता खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ।
यो विषयलाई पाकिस्तानले राष्ट्रसंघको सुरक्षा परिषदमा समेत पुर्याएको छ भने दुई देशका सेनाबीच गोली हानाहान समेत भएको छ।
भारतले भने यसलाई विशुद्ध आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ । यसबारे नेपालले अहिलेसम्म लिखित वक्तव्यमार्फत कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
तर, नेपाल-भारत संयुक्त आयोगको ५औं बैठकबारे जानकारी दिन सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ‘ब्रिफिङमा’ परराष्ट्र मन्त्री ज्ञवालीले यो मामिलालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए।
(पढ्नुस् सम्बन्धित समाचार- काश्मीर मामिलामा नेपाल– द्विपक्षीय वार्ताबाट शान्ति स्थापना होओस्)
नेपाल क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा उभिएको उनको भनाइ थियो। ‘हामी क्षेत्रीय शान्तिका पक्षमा छौं,’ ज्ञवालीले भनेका थिए, ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा पनि यही छ।’
त्यसअघि नेपाल लाइभसँगको विशेष कुराकानीमा पनि मन्त्री ज्ञवालीले त्यहाँ भएका घटनाक्रमलाई नजिकबाट लियालिरहेको बताएका थिए। ‘हामी घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं,’ उनले भनेका थिए, ‘हामी आशावादी छौं, समस्याहरु समाधान हुँदै जानेछन्। यो क्षेत्रमा शान्ति र स्थिरता सुदृढ हुँदै जानेछ।’
हामी नेपाललाई ठूला देशको प्रतिस्पर्धाको केन्द्र बन्न दिँदैनौं : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।