काठमाडौं- सरकारले जम्मू-काश्मीर मामिलालाई ‘नजिकैबाट नियालिरहको’ प्रतिक्रिया दिएको छ। नेपालमा आयोजना हुन लागेको नेपाल-भारत संयुक्त आयोगको ५ औं बैठकबारे जानकारी दिन सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ‘ब्रिफिङमा’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो मामिलालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिए।
उनले नेपाल क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको बताए। ‘हामी क्षेत्रीय शान्तिका पक्षमा छौं,’ ज्ञवालीले भने, ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा पनि यही छ।’
भारतमा नेरन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मू-काश्मीरले यसअघि पाएको विशेष स्वायत्तता खारेज भएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ ।
यो विषयलाई पाकिस्तानले राष्ट्रसंघको सुरक्षा परिषदमा समेत पुर्याएको छ भने दुई देशका सेनाबीच गोली हानाहान समेत भएको छ।
तर, भारतले भने यसलाई विशुद्ध आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ। यसबारे नेपालले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको थिएन।
परराष्ट्र मन्त्री ज्ञवालीले काश्मीरलाई भारतको आन्तरिक मामिला नभनी भारत र पाकिस्ताबीचको द्विपक्षीय वार्ताबाट यो समस्या समाधान हुनुपर्ने बताए।
‘काश्मीरबारे द्विपक्षीय वार्ताबाट यो क्षेत्रमा शान्ति र स्थायित्व हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ मन्त्री ज्ञवालीको भनाइ छ, ‘वार्ताबाट शान्ति कायम गर्ने प्रयत्नलाई हामी प्रोत्साहन गर्छौं।’
यसअघि नेपाल लाइभसँगको विशेष कुराकानीमा पनि मन्त्री ज्ञवालीले त्यहाँ भएका घटनाक्रमलाई नजिकबाट लियालिरहेको बताएका थिए। ‘हामी घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं,’ उनले भनेका थिए, ‘हामी आशावादी छौं, समस्याहरु समाधान हुँदै जानेछन्। यो क्षेत्रमा शान्ति र स्थिरता सुधृढ हुँदै जानेछ।’
काश्मीरमा नेपालीहरू सुरक्षित रहेको जानकारी दिँदै उनले दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग सहकार्य गरिरहेको बताए। काश्मीर क्षेत्रमा करिब ८० हजार नेपालीले काम गरिरहेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।