काठमाडौं– कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कप्तान ऐरी ५१ रनमा अविजित रहे ।
जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरालाई हराउँदै पुनरागमन गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिएका थिए ।
सुदूरपश्चिमका बलर अनिल खरेलले तीन विकेट लिएर पोखरालाई ठूलो योगफल बनाउनबाट रोकेका थिए ।
एनपीएलका अघिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले यसपटक सुखद सुरुवात गर्न सकेको थिएन । पहिलो खेलको हारपछि पोखराविरुद्धको जितले टोलीलाई प्रतियोगितामा लय समात्ने अवसर दिएको छ ।
अर्कोतर्फ, पोखरा एभेन्जर्सले भने तेस्रो संस्करणको पहिलो खेलमै हार बेहोरेको छ । अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पुग्न नसकेको पोखराले यसपटक पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।