ओखलढुङगा– विवाहको भोजमा मदिरा पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ।
ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडा हुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो। अन्य २ जना घाइते भएका छन्। ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झगडामा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा पक्राउ परेका छन्।
स्थानीय कमल मगर र जनक मगरबिच मादक पदार्थ सेवन गरी बिवाद भई कुटपिट हुँदा कुमार, कमल र जनक घाइते भएकोमा मिशन अस्पतालमा उपचारको क्रममा कुमारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका प्रहरी निरीक्षक टिका कार्कीका अनुसार देउसीको पैसाको विषयलाई लिएर उनीहरुबीच बिहे भोजमा झगडा भएको थियो। एक समूहले समूहका लागि भनेर उठाएको पैसा नदिएको भन्दै आरोप लगाएपछि झगडा भएको थियो। हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।