फलेवास - झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ।
गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन। वर्षा नहुँदा हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ। गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।
पछिल्लो समय सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ। वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ। सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन। जिल्लाको ९ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ। हिउँदमा ६ हजार ४ सय २० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ।
जिल्लामा २ हजार ६ सय १५ हेक्टरमा गहुँ र करिब एक हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र १ हजार ५ सय ४० हेक्टरमा आलु उत्पादन हुन्छ। जिल्लाको पाङ, फलेवास, कटुवाचौपारी, बर्राचौर, कुर्घालगायत फाँटमा गहुँ र तोरीको बढी खेती गरिँदै आएको छ। उच्च पहाडी र समथर भूभागमा पनि धान काटेलगत्तै आलुलगायत हिउँदे बाली लगाइन्छ।
वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग तथा कीराको प्रकोप बढ्ने कार्यालयले जनाएको छ। हिउँदे बाली थन्क्याएर बर्खे बालीका रुपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।