काठमाडौं- 'नाडा अटो शो २०१९' मा फोर्डका दुई नयाँ मोडल आउने भएका छन्। फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको 'जिओ फोर्ड'ले यो वर्षको अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक गर्दैछ। नेपाली बजारमा फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयुभी सेगमेन्टमा लोकप्रिय एसयुभी मध्येमा पर्छ।
फोर्डले भदौ १० देखि हुने अटो शोमा इकोस्पोर्टको नयाँ 'थन्डर भेरियन्ट' तथा रेन्जरको 'हाइइन्ड भेरियन्ट' प्रदर्शनीका लागि राख्ने योजना बनाएको जिओ फोर्डका जनरल म्यानेजर सुनिल क्षेत्रीले जानकारी दिए।
‘इकोस्पोर्टको थन्डर भेरियन्ट र रेन्जरको हाइइन्ड भेरियन्ट नयाँ हुनेछन्,’ क्षेत्रीले भने, ‘फोर्डले केही महिनाअघि बजारमा ल्याएको फिगोका साथै इन्डेभर, रेञ्जर, अस्पायर पनि अटो शोमा राखिने छ।’
विदेशमा हुने अटो शोमा सवारी उत्पादक कम्पनीहरुले नयाँ-नयाँ मोडल तथा कन्सेप्ट कारहरु समेत राख्ने गरेका छन्। तर, नेपालका भने नयाँ मोडल देखाउने तथा बिक्री गर्ने उद्देश्यले ल्याइने गरेको क्षेत्रीले बताए। नेपालमा अटो शो बिक्री मेलाको रुपमा रहने गरेको छ।
कम्पनीले उत्पादन गरेका नयाँ-नयाँ मोडल नेपाल ल्याउने पनि गरिन्छ अटो शोमा। दसैंको मुखमा आयोजना हुने भएकाले उपभोक्ताहरु पनि नयाँ सवारी किनौं भन्ने मुडमा हुन्छन्। सवारी बिक्रेताहरु पनि कसरी आफ्नो सवारी धेरै बिक्री गर्न सकिन्छ भन्नेमै केन्द्रित हुने गरेको क्षेत्रीको भनाइ छ।
सवारी बिक्रेताहरुको संस्था नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शो गर्दै आएको छ। अटो शोले सवारी बिक्रेता तथा उपभोक्तालाई जोड्ने भएकाले अटो शो सबै हिसाबले उपयोगी हुने गरेको छ। सवारी बिक्रेताहरुले यसलाई अवसरको रुपमा लिने गरेको क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।