काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालले हवाई यात्राको सुरक्षा व्यवस्थापनमा विश्वको औसत तहभन्दा माथि रहेर काम गरिरहेको दाबी गरेका छन्।
आजबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेपालले हवाई सुरक्षामा अधिकतम ध्यान दिएको र संयन्त्र परिचालन गरेको दाबी गरेका हुन्।
'भाैगलिक र माैसमी अस्थिरताका बावजुद पनि सुरक्षामा हामीले कुनै कसर बाँकी राखेका छैनाैं,' पोखरेलले भने।
उनले नेपालमा हवाई यात्रा गर्ने यात्रुकाे संख्या निरन्तर वृद्धि भएको जनाउँदै सरकार अहिले हवाई पूर्वाधार विस्तारमा केन्द्रित भएको जनाए। 'अहिले नेपालमा हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा छ। यसकारण पनि हामी यस क्षेत्रको पूर्वाधार विस्तारमा लागिरहेका छौं,' उनले भने, 'लुम्बिनी र पाेखरामा विमानस्थल निर्माण भइरहेको छ। सात विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएका छन्।'
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममाा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, एसिया प्रशान्त क्षेत्रका देशका नागरिक उड्डयन प्रधिकरणका प्रमुखलगायतको सहभागिता रहेको छ।
५ दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुनेछन्। सम्मलेनमा एसिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन संठगनका ४३ देशमा २ सय ९१ प्रतिनिधिसहित ६ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागि छन्। सम्मेलनमा नेपालको तर्फबाट ३३ जना प्रतिनिधि सहभागि छन्।
सम्मेलनको मुल नारा ‘क्षमताको सिमितता मेट्न गरिने साझा सम्बोधन’ रहेको छ। सम्मेलनले हवाई क्षेत्रको विकासका लागि दिने सुझाव आइकाआको बैठकमा पेस हुनेछ। पेस भएको सुझाव आइकाओबाट पारित भएको अवस्थामा सबै देशमा लागू हुनेछ। साथै सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई विकासका लागि पनि परिपत्र गर्न सक्नेछ।
यसअघि पनि नेपालले सन् १९७८ र १९९८ मा यस्तो सम्मेलन आयोजना गरेको थियो। यसपटक नेपालमा हुने सम्मेलन सबैभन्दा ठूलो सम्मेलनसमेत हो।
अहिलेसम्म भएको एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलनमध्ये बेइजिङमा भएको सम्मेलनमा २ सय ३६ जनाको सहभागिता रहेको थियो। नेपालमा हुने सम्मेलनमा ४ सयभन्दा बढी विदेशीको मात्रै सहभागिता हुनेछ।
सम्मेलनमा यस क्षेत्रमा सरोकार राख्ने अन्य १६ वटा संस्थाहरुले समेत प्रदर्शनी गर्दैछन्। साथै सम्मेलनमा आइकाओ, इयूलगायतका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बन्धित संस्थाहरुको समेत सहभागिता रहनेछ।
साथै सम्मेलनमा ५६ वटा कार्यक्रम र ५३ वटा सूचनासम्बन्धी विषयमा समेत छलफल हुनेछ। सम्मेलनमा एभिएसन सेफ्टी, एयर नेभिगेसन, एभिएसन सुरक्षालगायतका १२ वटा परिपत्र प्रस्तुत हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।