कावासोती- गण्डकी प्रदेशलाई भारतसँग जोड्ने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट मालसामानको भन्सार ‘जाँचपास’ सुरु गरिएको छ।
छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो। आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ सुरु गरिएको हो।
नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिइएको छ। भारतसँग जोडिने त्रिवेणी नाका र चीनसँग जोडिने कोरला नाका समग्र देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण हुने सरकारले बताउँदै आएको छ। यी दुई नाकालाई चीन र भारतलाई जोड्ने सहज नाकाको रुपमा हेरिएकाले पनि त्रिवेणी नाकामा जाँचपास सुरु हुनु महत्वपूर्ण कार्य भएको यहाँका उद्योगी व्यापारीले बताएका छन्। त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तरोन्नति गरी ‘जाँचपास’ सुरु गरिएसँगै अब यस नाकामा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
त्रिवेणी नाकामा ‘जाँचपास’ सुरु गरिएपछि यस क्षेत्रका उद्योगी, व्यापारी, स्थानीयसमेत खुसी भएका छन्। भन्सारको स्तरोन्नति र ‘जाँचपास’ सुरु भएसँगै चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास उनीहरुको छ। 'हामीलाई यो मुल भन्सार हुन्छ र यहाँ विकासको सम्भावना बढ्छ भन्ने आशा जागेको छ,' विनयी त्रिवेणी गाउँपालिका-७, त्रिवेणीका स्थानीय विनयकुमार तेलीले भने, 'लामो समयसम्म विकास हुन नसकेको यस क्षेत्रको मुहार फेरिन्छ भन्ने लागेको छ।'
आइतबार प्रतिनिधिसभा सदस्य तिलक महतले त्रिवेणी छोटी भन्सारबाट भन्सार ‘जाँचपास’को शुभारम्भ गरेका हुन्। उनले गण्डकी प्रदेशको मुख्य नाकासमेत रहेकाले चाँडै मूल भन्सार बनाउतर्फ सरकार लागि पर्ने बताए।
हाल एकपटकमा २५ हजार रुपैयाँसम्मका सामानको भन्सार गर्न सकिने गरी ‘जाँचपास’ सेवा सुरु गरिएको छ। छोटी भन्सारलाई धेरैजसो स्थानमा १० हजार रुपैयाँसम्मको मालवस्तुको ‘जाँचपास’ गर्ने सीमा निर्धारण गरिने गरिएको भए पनि त्रिवेणी भन्सारलाई २५ हजार रुपैयाँसम्मका सामानको ‘जाँचपास’ गर्ने अधिकार प्रदान गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए।
त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने व्यवस्था मिलाएको कार्यालय प्रमुख शर्माले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।