काठमाडौं- चौथो संस्करणको 'आइसिटी अवार्ड २०१९' को प्रोडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेजले पाएको छ।
यसले स्वास्थ्य संस्थाहरुको प्रशासनिक व्यवस्थालगायत सम्पूर्ण कामलाई डिजिटल प्रविधिमार्फत सहजता दिने गर्छ। साथै यसले विभिन्न मेडिकल रिपोर्टहरुलाई एकीकृत गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड तयार पार्छ।
मेडिफ्लोले तयार गरेको डिजिटल प्रविधि प्रयोग गर्दै सिभिल सर्भिस अस्पतालले घरबाटै टिकट काट्न सकिने सेवाको समेत सुरु गरेको छ।
यसले नेपाल सरकारलाई हेल्थ केयरसम्बन्धी आवश्यक डाटा चाहिएको बेला उपलब्ध गराउन सक्ने गरी प्रविधिको विकास गरेको छ।
यस्तै, यस वर्षको पब्लिक च्वाइस अवार्ड 'किताब यात्रा नेपाल'ले जितेको छ। पठन संस्कृतिलाई विकास र विस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ। यसले अहिले न्युज अनलाइनमा समेत लाइब्रेरी सञ्चालन गर्दै आएको छ।
साथै यस वर्षको आइसिटी अवार्डमा पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र 'नेपाली डायसपोरा अवार्ड २०१९' फ्युज मेसिनका अध्यक्ष डा समीर मास्केले पाएका छन्।
आइसिटी डिजिटल गर्भेन्स अवार्ड यस वर्ष सरकारको संवैधानिक निकाय लोक सेवा आयोग र आन्टरप्रेनर अवार्ड डिजिटल वालेट 'खल्ती'ले पाएको छ। यस्तै 'डिजिटल एजुकेसन आसिटी अवार्ड २०१९' ओपन युनिभर्सिटी र 'राइजिङ इन्नोभेसन आइसिटी अवार्ड' पुल्चोक इन्जिनियरिङ क्याम्पसका रितेश पाण्डे र आयुश भट्टराइले बनाएको 'रक्तदान एप'ले पाएको छ।
'आइसिटी स्पार्टअप अवार्ड' इ–डिजिटल नेपालले पाएको छ।
आइसिटी अवार्डमा सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलगायत दुई दर्जन बढी संस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।