काठमाडौं - देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ १ करोड रुपैयाँभन्दा माथि रहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको भने कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ। सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो।
सञ्चालनमा रहेका विमानस्थलको कमाइ न्यून हुँदा सरकारलाई ती विमानस्थल सेतो हात्तीका रुपमा पालिराख्नुपर्ने बाध्यता छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले नै अधिकांश विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्य कामसमेत गर्नुपर्ने अवस्था देखिएको हो।
प्राधिकरणले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब ६२ करोड ८१ लाख २० हजार ६४ रुपैयाँ आम्दानी गरेको छ।
कुन विमानस्थलको कति आम्दानी(रुपैयाँमा)?
चन्द्रगढी विमानस्थलः २ करोड १९ लाख ६० हजार
विराटनगर विमानस्थलः ५ करोड ६४ लाख ७७ हजार ७ सय ९७
तेन्जिङ हिलारी विमानस्थलः १ करोड ८६ लाख ९८ हजार ५ सय ७६
सिमरा विमानस्थलः १ करोड २३ लाख ३९ हजार २ सय ३२
भरतपुर विमानस्थलः २ करोड ३८ लाख १४ हजार ८८
पोखरा विमानस्थलः ६ करोड ३९ लाख १९ हजार ५ सय ७
गौतमबुद्ध विमानस्थलः ३ करोड ७३ लाख ५१ हजार ७ सय
नेपालगञ्ज विमानस्थलः ४ करोड ५६ लाख ९६ हजार २ सय ३९
सिमीकोट विमानस्थलः १ करोड ५४ हजार १ सय १४
धनगढी विमानस्थलः १ करोड २१ लाख ११ हजार
प्राधिकरणका अनुसार थामखर्क विमानस्थलले सबैभन्दा कम १४ हजार ३ सय ४६ रुपैयाँ मात्रै कमाइ गरेको छ। २०६९ बाट बन्द भई गत मंसिर १३ गतेबाट पुनः संचालनमा आएको चितवनको मेघौली विमानस्थलले २१ हजार ९ सय ७७ रुपैयाँ कमाइ गरेको छ । लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ पनि ८ लाख ७६ हजार ८ सय १० रुपैयाँमा खुम्चीएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थल र अरु केही विमानस्थल मात्रै नाफामा रहेको र धेरैजसो विमानस्थल घाटाको व्यापार गरिरहेको बताए। उनले भने,'अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले मात्रै अरु विमानस्थल सञ्चालन गर्नुपरेको छ । त्यसले आर्थिक रुपमा समेत असन्तुलन कायम गरेको छ।'
विमानस्थल निर्माणको माग बढ्दै गएको र सञ्चालनमा समेत घाटा व्यहोर्नु परेपछि प्राधिकरण पनि के गर्ने भन्ने अन्यौलमा छ। राजनीतिक दबाबका आधारमा निर्माण हुने र सञ्चालन गर्नुपर्ने बाध्यतालाई प्राधिकरणले नकार्न सकेको छैन।
प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम पूँजीगत लगानीका आधारमा सञ्चालनमा रहेका धेरै विमानस्थलले नाफा कमाउने सम्भावना नरहेको तर्क गर्छन्। उनी भन्छन्,'कतिपय विमानस्थल सामाजिक उत्तरदायित्वका हिसाबले मात्रै चलिरहेका छन्। जसमा नाफाभन्दा पनि सेवालाई मुख्य रुपमा हेरिएको छ।'
सरकारले जनतालाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याएका विमानस्थलको दायित्वसमेत प्राधिकरणको काँधमा रहेको उनको भनाइ छ।
सञ्चालनमा आउन लागेका नयाँ विमानस्थल
प्राधिकरणले गत पुसको अन्तिम सातादेखि दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा ल्याएको छ। निकट भविष्यमा नै बागलुङको बलेवा विमानस्थल तथा सप्तरीको राजविराजमा रहेको विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारीमा छ। यस्तै प्रदेश नं. ७ को कञ्चनपुर, बैतडीको गोकुलेश्वर विमानस्थल पनि सञ्चालनमा ल्याइने बताइएको छ।
प्राधिकरणका अनुसार ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा, अछामको कमलबजार, अर्घाखाँची र लमजुङमा समेत विमानस्थल निर्माणधीन रहेका र छिट्टै नै सञ्चालनमा आउने छन्। कालीकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडानसमेत भइसकेको छ। अन्य विमानस्थलको निर्माण कार्य जारी छ।
सञ्चालनमा रहेकामध्ये २९ वटा विमानस्थलको धावनमार्ग कालोपत्र छन्। लामीडाँडा, थामखर्क, राजविराज, डोटी दिपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने कार्य अगाडि बढिरहेको छ।
हाल पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणका क्रममा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।