काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १ दशमलब ४२ अंकले बढेर १ हजार ४ सय ५ दशमलब ९५ अंकको विन्दुमा रोकिएको छ।
आकर्षक मुनाफा वृद्धि गर्दै आइतबार दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको एनएमबी बैंक लगानीकर्ताको आकर्षणको केन्द्रमा परेको छ। आज बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य ३ दशमलब ५८ प्रतिशत अर्थात् १६ रुपैयाँले बढेको छ। त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य पनि ३ प्रतिशतले बढेको छ।
आइतबार परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ। १ सय ५८ कम्पनीको ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बिहीबार २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपैयाँ बराबरको सेयर किनबेच भएका थियो।
आइतबार कारोबारमा आएका दुई समूहमा हरियाली छाएको छ भने अन्य ८ समूहमा गिरावट आएको छ। आजको कारोबारमा बैंकिङ समूह र विकास बैंक समूह क्रमशः ५ दशमलब ९२, ४ दशमलब ७६ अंकले बढेका छन्।
आइतबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा होटल समूह अन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा २८ दशमलब शून्य २ अंकले घटेको छ। त्यस्तै, जलविद्युत् समूह १६ दशमलब ९२ अंकले घटेको छ भने बीमा समूह १२ दशमलब ४९ अंकले घटेको छ ।
यस दिन सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता छन्। बैंकको सेयर मूल्य ६ दशमलब २८ प्रतिशतले घटेको छ। त्यस्तै, विशाल बजारका लगानीकर्ताले प्रतिसेयर १२३ रुपैयाँ गुमाएका छन्।
सानिमा माई हाइड्रो पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । यस कम्पनीको २ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन्। त्यस्तै, कृषि विकास बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।