काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आगामी कात्तिक २९ मा विशेष साधारणसभा डाकेको छ।
केही दिनअघि बसेको महासंघको १२औं कार्यकारिणी समिति बैठकमा पेस गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष साधारण सभा बोलाइएको महासंघ अध्यक्ष भावानी राणाले जानकारी दिइन्।
कात्तिक २९ मा बस्ने उक्त विशेष साधारण सभाले विधान समितिका सभापति चण्डिराज ढकालले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि छलफल गर्दै निर्णय गर्नेछ।
संशोधन प्रस्तावमा महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरेको व्यवस्थालाई परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित प्रणालीबाटै अध्यक्ष चयन गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएका छन्।
सोही प्रस्ताव पेस भएपछि महासंघको आज बसेको कार्यकारिणी समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।
अब साधारण सभाभन्दा १५ दिनअघि पुनः कार्यकारिणी समितिको बैठक बस्ने अध्यक्ष राणाले जानकारी दिइन्।
महासंघ कोषाध्यक्षमा केसी
बैठकले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरज केसीलाई नियुक्त गरेको छ।
महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको समाचार प्रकाशित भएसँगै केही समयअघि यसअघिका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका थिए।
प्रधानको राजीनामापछि रिक्त रहेको कोषाध्यक्ष पदमा केसीलाई नियुक्त गरिएको हो। केसी पछिल्लो २८ वर्षदेखि महासंघभित्र रहेर काम गरिरहेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।