जुम्ला- करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।
सेवा कार्यालयले आर्थिक वर्ष २०७३/०७४ को पहिलो ६ महिनामा चार करोड रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताए।
जसमा आयकरबाट दुई करोड ५३ लाख ७४ हजार ३ सय ८८, बहाल करबाट १७ लाख ३१ हजार ९ सय ८०, ब्याजकरबाट एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट ९५ लाख ११ हजार ४ सय ५, अन्तः शुल्कबाट २३ लाख ६ हजार २ सय ३७ र शिक्षा सेवा शुल्कबाट ७१ हजार ८ सय ७७ कर उठेको खत्रीले जानकारी दिए।
यस वर्ष जुम्लाबाट ८ करोडभन्दा बढि कर असुल्ने कार्यालयले लक्ष्य लिइएको छ। 'लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौँ', कर अधिकृत खत्रीले भने। उनका अनुसार ६ महिनामा लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ।
गत आर्थिक वर्षमा कार्यालयले ६ करोड ५४ लाख रुपैयाँ राजश्व उठाएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।