मुस्ताङ, मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन्।
स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५ सय स्याउका बिरुवा वितरण गरेका हुन्। घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५ सय वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन्।
गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो। प्रतिगोटा ४५ रुपैयाँ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई २२ रुपैयाँमा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताए।
उनका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ। थासाङ गाउँपालिकाले स्याउका साथै ५ सय वटा ओखरका बिरुवासमेत वितरण गरेको छ। २७ रुपैयाँ मूल्य पर्ने ओखरका बिरुवा १३ रुपैयाँमा उपलब्ध गराइएको हो।
यसअघि जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचना लगत्तै स्थानीय तहका शाखामार्फत हुन थालेको छ।
स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाहगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताइन्। मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराइएको तामाङले जानकारी दिइन्।
मुस्ताङका कृषक हिजोआज नयाँ बिरुवा लगाउने, स्याउ बगैँचाको काँटछाँट, सरसफाइ र व्यवस्थापनको काममा व्यस्त छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।