काठमाडौं- १९ वटा वाणिज्य बैंकले सहायक कम्पनी खोलेर धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साउन १७ गते सूचना प्रकाशित गर्दै वाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद/बिक्री गर्ने अनुमतिपत्रका लागि निवेदन मागेको थियो। नेप्सेको उक्त सूचनापछि अधिकांश वाणिज्य बैंकले धितोपत्र ब्रोकर लाईसेन्स लिनका लागि सहायक कम्पनी खोल्न राष्ट्र बैंकमा निवेदन दिएका थिए। यी मध्ये १९ कम्पनीको निवेदन स्वीकृत भएको हो।
यसरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंकहरुमा एनआईसी एसिया बैंक, सानिमा बैंक, मेगा बैंक, जनता बैंक, बैंक अफ काठमान्डु, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, नेपाल ईन्भेस्टमेन्ट बैंक र कुमारी बैंक छन्। त्यसैगरी, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराईज बैंक र सिभिल बैंक रहेका छन्।
यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्डस् बैंक र प्राईम बैंकले हालसम्म पनि धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्न सहायक कम्पनी खोल्नका लागि स्वीकृती माग नगरेको राष्ट्र बैंकले जनाएको छ।
'धितोपत्र सम्बन्धी ऐन २०६३' तथा 'धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४' ले धितोपत्र दलाल व्यवसायी अनुमतिपत्रका लागि आवेदन दिने वाणिज्य बैंकका सहायक कम्पनीहरुको मापदण्ड निर्धारण गरेको छ।
ब्रोकर लाइसेन्स लिनका लागि खोलिएका सहायक कम्पनीमा कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी हुनुपर्ने तथा चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ।
वाणिज्य बैंकले सहायक कम्पनीमार्फत् धितोपत्र व्ययसाय गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान छ।
ब्रोकर लाईसेन्स लिनका लागि वाणिज्य बैंकका सहायक कम्पनीले साउन अन्तिम साताभित्र नेप्सेमा आवेदन दिईसक्नु पर्नेछ।
वाणिज्य बैंकका सहायक कम्पनीमार्फत् धितोपत्र खरीद गर्न पाउने गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले प्रकृया अगाडि बढाएसँगै नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँच वृद्धि हुने आशा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।