रसुवा– चीनसँगको एकमात्र व्यापारिक नाका रसुवागढीबाट कृषिजन्य सामग्रीको आयात ३४ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा गत वर्षभन्दा यस वर्ष ३४ दशमलब ०२ प्रतिशतले आयात घटेको प्लान्ट क्वारेन्टाइन चेकपोस्टले जनाएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १९ हजार सात सय ६३ मेट्रिक टन कृषिजन्य सामग्री रसुवागढी नाका हुँदै नेपाल भित्रिएकोमा यो वर्ष साउनदेखि पुस मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले बताए।
उक्त सामग्री खरिदका लागि गत वर्ष एक अर्ब ७२ लाख दुई हजार रुपैयाँ बाहिरिएकोमा यस वर्ष र ६५ करोड ३३ लाख ४८ हजार बराबरको रकम बाहिएको यादवले बताए।
‘यो वर्ष स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात घटेको छ भने करुको पिठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफी र ओखरको आयातमा वृद्धि भएको छ’, उनले भने।
निर्यातमा १६ प्रतिशतले वृद्धि
रसुवागढी नाका हुँदै चीनबाट नेपालतर्फ कृषिजन्य सामग्री आयातमा कमी आउँदा निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ। गत वर्षभन्दा यो वर्ष १६.३९ प्रतिशतले निर्यातमा वृद्धि भएको प्लान्ट क्वारेन्टाइन अधिकृत यादवले बताए।
उनका अनुसार, गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको जनाइएको छ।
त्यस्तै, ३१ लाख २० हजार रुपैयाँ बराबरको १२ हजार आठ सय ८० वटा बाँसको मुडा, २ करोड ६० लाख रुपैयाँ बराबरको तीन हजार दुई सय ५० केजी काठको टेबल र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।