नुवाकोट– चिसोको कारण नुवाकोटका एक किसानले एक करोडभन्दा बढीको माछा गुमाउनु परेको छ। चिसोका कारण बजार नपाउँदा बेलकोटगढी नगरपालिका–१० वासुकी निवासी युवराज पाण्डेको माछा पालन समस्यामा परेको हो। उनले सञ्चालन गर्दै आइरहेको ‘पाण्डे कृषि फर्म’ को करिब ५५ हजार केजी माछा चिसो मौसमले मरेको हो।
पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा पछिल्लो समय मौसमी तापक्रममा आएको गिरावटका कारण क्षति भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। उनका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो।
खोलाको पानी चिसो हुँदै गएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताए।
‘जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै भयो,’ उनले भने– ‘पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे।’
पाण्डेले तीन करोडको लागतमा गत वर्षदेखि माछा फार्म सञ्चालनमा ल्याएका थिए। उनले बंगलादेशबाट मात्र दुई लाख १५ हजार भुरा यो वर्ष किनेर ल्याएका थिए। ‘गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए,’ उनले भने, ‘पचास हजार मूल्य बराबरको माछा बिक्रि गरें, बाँकी सबै मरेर गएँ।’ (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।