नेपालगन्ज– २०४७ फागुन १ गते नेपालको तीनदिने भ्रमणमा थिए, भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर। नेपालमा बहुदलको आगमनसँगै नेपाल भित्रिएका उनले हुलाकी सडक निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाए, र फर्किए।
चन्द्रशेखरको भ्रमणसँगै सुरु भएको हुलाकी सडकको चर्चा त्यसयता भइरहेकै छ। तर भारतले सडक बनाउने प्रतिबद्धता जनाएको २७ वर्षसम्म पनि निर्माण पूरा भएन। भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता पूरा हुने पर्खाइमा थिए यस क्षेत्रका बासिन्दा।
भारतीय प्रतिबद्धता लागू नभएपछि नेपाल सरकारले आफ्नै लगानीमा बाँकेको नेपालगन्जदेखि बघौडासम्म काम थाल्यो। हुलाकी राजमार्गमा पर्ने यो सडकखण्डमा भने अहिले निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ।
४४ किलोमिटर लामो हुलाकी सडकको निर्माणले अहिले तीव्रता पाएको छ। लामो समयसम्म निर्माणले गति नलिँदा अनेक समस्या खेप्न बाध्य बघौडा क्षेत्र (हाल राप्ती सोनारी र नरैनापुर गाउँपालिका) का बासिन्दामा यो तीव्रतासँगै खुसीयाली छाएको छ।
भीरपहरा फोडेर कर्णालीका कालिकोट-जुम्ला सडक पुग्दा पनि तराईको समथर नेपालगन्जसँग सडक जोडिएको बघौडा क्षेत्रमा सडक नपुग्दा स्थानीयवासीले राज्यबाट हेपिएको महसुस गर्दै आएका थिए।
हुलाकी सडक आयोजनाले नेपाल सरकारकै बजेटमा नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुर गाउँपालिकाको कट्कुइयासम्म ४४ किलोमिटर सडकलाई २ खण्डमा विभाजित गरेर निर्माण थालेको हो।
यसरी हुँदैछ काम
२०७३ फागुनदेखि निर्माण सुरु भएको हुलाकी सडकको निर्माण २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा छ।
पहिलो र दोस्रो दुवै खण्डको करिब गरी ४४ किलोमिटर सडकको निर्माणको ठेक्का पप्पु-लुम्बिनी जेभी निर्माण कम्पनीले लिएको हो। पप्पु कस्ट्रक्सन प्रालि संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का सांसद हरिनारायण प्रसाद रौनियारको हो। पप्पु कन्स्ट्रक्सन समयमा काम नगर्ने कम्पनीको रुपमा बदनाम छ।
पप्पुले कोस्टलसँग ज्वाइन्ट भेन्चरमा ठेक्का लिएको बाँकेकै सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम गर्न समय अवधि ६५ प्रतिशत पूरा हुँदा पनि काम भने २ प्रतिशत मात्रै भएको छ।
लक्ष्य अनुसारको काम नगरेको जनाउँदै सिक्टा आयोजनाले पप्पु-कोस्टल जेभीलाई सार्वजनिक सूचनामार्फत तकाल काम सुरु गर्न आग्रह गरेको थियो। तर कम्पनीले अटेर गरेका कारण सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणालीको कामले गति लिन सकेको छैन। जसका कारण डुडुवा नहर प्रणाली अन्तर्गत करिब १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउनुपर्ने काम अलपत्र परेको छ।

सिक्टा आयोजना अन्तर्गत ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायत काम गर्नेगरी पप्पु-कोस्टल जेभीले ९८ करोड ८१ लाखमा ठेक्का लिएका थिए। ठेक्का अनुसार १९ डिसेम्बर २०१८ सम्म काम सक्नुपर्ने भए पनि हालसम्म २ प्रतिशत मात्रै काम भएको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए।
नेपालगन्जदेखि बघौडासम्मको पहिलो र दोस्रो दुवै खण्डको करिब गरी ४४ किलोमिटर सडकको निर्माणको ठेक्का पनि पप्पु कन्सट्रक्सन प्रालिले लुम्बिनीसँग ज्वाइन्ट भेन्चरमा लिएको थियो। तर निर्माणको जिम्मा भने गणपति ग्रुप अफ कन्सट्रक्सन प्रालिलाई दिइयो।
पप्पु-लुम्बिनी जेभीले ठेक्का लिएको भए पनि सडक निर्माणको काम भने प्रतिनिधिको रुपमा गणपतिले गरिरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख सौरभ बज्राचार्यले बताए।
करिब ६५ करोडको लागतमा निर्माण हुन लागेको हुलाकी सडकको निर्माण कार्य सुरु भएको एक वर्षको अवधिमा नेपालगन्जदेखि फत्तेपुरसम्म पहिलो खण्डमा १४ प्रतिशत काम सकिएको छ। फत्तेपुरदेखि कट्कुइया सम्मको दोस्रो खण्डमा २४ प्रतिशत पूरा भइसकेको छ।
सडकमा पर्ने कल्भर्ट, बक्स, सेल्याबहरु बनाउने र माटो पटान गर्ने काम तीव्र गतिमा भइरहेकाले ५ महिनापछि नरैनापुरमा सार्वजनिक यातायातका साधन चल्न थाल्ने नरैनापुर गाउँपालिकाका प्रमुख इस्तिहाक अहमद शाहले बताए। जसबाट यहाँका करिब ४० हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।
चर्चा बढी, सुस्त काम
वर्षौं पुरानो भारतसँग सीमा जोडिएका बजार तथा बस्तीहरुलाई जोड्ने हुलाकी सडकको निर्माणले गति लिन नसक्दा पुराना र एतिहासिक बस्ती तथा बजारहरु अझै पनि बिकासका दृष्टिले निक्कै पछाडि छन्। जसको उदाहरण पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जसँगै जोडिएका बघौडा, गुलरिया र राजापुरको अवस्थाले झल्काउँछ।
झापाको केचनादेखि कञ्चनपुरको वनवासासम्म हुलाकी राजमार्गको ट्रयाक खुलेको छ। अन्य राजमार्गको तुलनामा निक्कै कम कम लागतमा यो बाटोको निर्माण हुन सक्छ।
अहिले निर्माण भइरहेको मध्यपहाडी राजमार्गमा राज्यले गरेको लगानीको २० प्रतिशत मात्रै लगानी गरेको भए हुलाकी राजमार्ग निर्माण हुन सक्थ्यो। तर त्यसतर्फ राज्यले ध्यान नदिँदा हुलाकी राजमार्गको निर्माण वर्षौंसम्म धकेलिन पुगेको अधिवक्ता विश्वजित तिवारीले बताए।
राजा महेन्द्रको पालामा बनाइएको पूर्व पश्चिम-राजमार्गका कारण हुलाकी राजमार्ग ओझेलमा परको हो। राजमार्ग क्षेत्रमा नयाँ सहरहरु बने र विकसित हुँदै गए तर मधेसका पुराना बजार उजाड बन्दै गएको तिवारी बताउँछन्।
धेरै पुरानो हुलाकी राजमार्ग निर्माण भएको भए मधेसको आर्थिक र सामाजिक विकासले फड्को मारिसकेको हुन्थ्यो।
हुलाकी राजमार्ग लगायत तराईका सबै सडक बनाउने जिम्मा भारतलाई दिएर सरकार पन्छिन खोजेको देखिन्छ। 'मधेसमा बन्ने सडकका लागि भारतकै मुख ताक्नु गलत हो,' उनी भन्छन्, 'मधेसका जनताले कर नेपाल सरकारलाई बुझाउने तर आस भारतबाट गरेका कारण हामी निकै पछाडि परेका हौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।