रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोस्ट निर्माण गरिएको छ। भूकम्पले सीमामा रहेका कार्यालयहरु ध्वस्त भएसँगै ३२ महिनापछि सीमा नाकामा प्रिफ्याबको एकीकृत चेकपोस्ट निर्माण गरिएको हो।
निर्माण गरिएको भवनको शुक्रबार ६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले उद्घाटन गरे।
भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिप्mयाब भवन निर्माण गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले बताए।
निर्माण गरिएको भवनमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने भन्सार प्रमुख गोपाल कोइरालाले बताए। उनले भने एक–एक वटा कोठामा अध्यागमन, भन्सार र सुरक्षाकर्मी रहनेछन्।
सीमामा एकीकृत चेकपोस्ट निर्माण भएसँगै यात्रुलाई सहज हुने कोइरालाले बताए। उनले भने, ‘यात्रुलाई सजिलोका लागि एकीकृत चेकपोस्ट निर्माण गरेका हौं। अब थोरै सामान ल्याउँदा, त्यसको भन्सार शुल्क पनि सीमामै तिर्न सकिनेछ।’
यसअघि, सीमामा एकीकृत चेकपोस्ट नहुँदा २ किलोमिटर हिँडेर सेवा लिन यात्रुहरु वाध्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।