काठमाडौं- एप्लिकेसनमार्फत मोटरसाइकल र ट्याक्सी भाडामा प्रयोग गर्दै यात्रु बोक्दै आएको पठाओले सेवा सुरु गरिसकेपछि नियामक निकायमा निवेदन दिएको दाबी गरेको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले एप्लिकेसनमार्फत नै भरखरै ट्याक्सी सेवा पनि सुरु गरेका जानकारी गराउँदै भने, 'आवश्यक अनुमति लिने विषयमा सरोकारवाला निकायमा लिखित तथा मौखिक निवेदन दिएका छौं।’
कानुनले नगर्नु भनेको काम गर्दै आएको पठाओले ट्याक्सी मिटरमा उठेको भन्दा १ सय रुपैयाँ अतिरिक्त शुल्क उपभोक्ताबाट असुल्दै आएको छ। शुक्रबाटबाट ट्याक्सी सेवासमेत सुरु गरेको पठाओले बढी शुल्क लिन थालेपछि विवादित बनेको छ। उसले भने यो शुल्कलाई कम्पनीको इन्टरनेट, टेलिफोन लगायतको खर्च भनी दाबी गरेको छ।
तर हालको विद्यमान कानुन अनुसार मिटर जडित ट्याक्सीले मिटरमा उठेको रकमभन्दा अतिरिक्त शुल्क लिन पाउँदैन। सरकारले काठमाडौं उपत्यकामा मिटर ट्याक्सीको भाडा दर सुरुमा १४ रुपैयाँ र प्रति किलोमिटर ३९ रुपैयाँ भाडा तोकेको छ। पठाओले भने सरकारले तोकेको उक्त भाडा दरमा १ सय रुपैयाँ उपभोक्ताबाट थप असुलेको हो।
‘हामीले सरकारले तोके अनुसार भाडामा १ सय रुपैयाँ सेवा शुल्क लिएका हौं,’ बस्न्यातले भने, ‘एप्लिकेसन, टेलिफोन, इन्टरनेटको शुल्कलगायत बापत उक्त रकम लिइएको हो।’ यसलाई अन्यथा रुपमा लिन नहुने उनको जिकिर छ। तर पठाओले स्वघोषित रुपमा मिटर ट्याक्सीमा शुल्क असुल्दा नियामक निकाय भने मौन रहेको छ।
त्यस्तै पठाओले फोनकल तथा निरन्तर अनलाइन बसी काम गर्नका लागि चाहिने इन्टरनेट लगायतको खर्च, ट्राफिक जाम तथा ग्राहकका चाहना बमोजिम कुर्नुपर्ने अवधिको लागि लाग्ने वेटिङबापत सेवा अवधिको लागि थप १ रुपैयाँ प्रतिमिनेट समेत समायोजन गरेको दाबी गरेको छ। (तस्बिर : coruscatesolution.com)
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।