काठमाडौं- भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउनुपर्नेमा जोड दिइएको छ।
६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले शुक्रबार आयोजित कार्यक्रमका वक्ताहरुले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा न्यून विजकीकरण, चोरी पैठारी जस्ता समस्या देखिएकाले भन्सार असुलीमा समस्या देखिएको बताए। भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्न निर्देशन दिँदै उनले व्यवसायी र विभागबीचमा समझदारी गरेर विद्यमान समस्यालाई सम्बोधन गर्नुपर्ने बताए।
अर्थमन्त्री कार्कीले भने, 'भन्सार राजश्वमा अपेक्षित लक्ष्य पुगेको छैन। राम्रो सन्देश दिएको छैन। त्यसलाई सुधार गर्नुपर्छ।' उनले सुशासनको माध्यमबाट मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताए।
यस्तै, अर्थराज्यमन्त्री उदय शमशेर राणाले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्धबाट मुलुकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गर्दै देशभरका भन्सार बिन्दुलाई भौतिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने बताए।
महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय अनुशासनलाई सुधार नगरी मुलुकको आर्थिक विकास सम्भव नभएको भन्दै त्यस विषयमा राज्य तथा निजी क्षेत्रले ख्याल गर्नुपर्ने बताए। उनले वित्तीय मूल्यांकनका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रमा ७५ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा भएकाले आर्थिक क्षेत्र खराब हुनुमा निजी क्षेत्र जिम्मेवार हुनुपर्ने बताए। उनले आर्थिक क्षेत्र जर्जर हुनुमा निजी क्षेत्र जिम्मेवार रहेको टिप्पणी समेत गरे।
अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक, प्रशासक र व्यवसायी तीन वटै पक्ष एउटै उद्देश्यका लागि अगाडि बढेमात्र आर्थिक समृद्धि र लगानीको वातावरण बन्ने बताए। यस्तै, राजश्व सचिव शिशिर ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएका र त्यसको नतिजा पनि देखिन थालेको भन्दै सुधारलाई निरन्तरता दिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघ सुरक्षित व्यवसायी गर्ने उल्लेख गर्दै भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने उल्लेख गरे।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधार तथा लगानीका लागि उपयुक्त अवसर प्राप्त भएकाले त्यसका लागि राज्यपक्ष सकारात्मक भएर अगाडि बढ्ने समय आएको बताए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायलाई आधुनिकीकरण गर्न र भन्सार सुधारलाई निरन्तररुपमा अगाडि बढाउनुपर्ने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।