अहमदाबाद (भारत)– पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा बुलेट ट्रेन सञ्चालन हुने भएको छ।
जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा रेल सेवाको सुरुवातको सहमति भएको छ।
‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको मुम्बाइसम्म चल्ने छ।
पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो।
यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो।
जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन्। उनीहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो।
भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।