चितवन- प्रणय दिवसको अवसर पारेर माघ २८ गतेदेखि सौराहामा खाना महोत्सव हुने भएको छ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
१२औं संस्करणको महोत्सव माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिए। महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा रेग्मीले महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गरे। सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ।
महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए। यस्तै, ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने जनाइएको छ।
महोत्सव अवधिभर विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।