काठमाडौं- नेपाल धितोपत्र बोर्डले सि-आस्वा तत्काल लागू नगर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)लाई निर्देशन दिएको छ। बोर्डले सि-आस्वा अनिवार्य लागू गर्नुअघि लगानीकर्ताहरुलाई प्रणालीमा जोड्न एक महिनाको अवधि दिन (सिडिएससी)लाई निर्देशन दिएको हो।
बोर्डले निर्देशन दिएसँगै सिडिएससीले फागुन ११ गतेबाट मात्र सि-आस्वा अनिवार्य हुने नयाँ सूचना जारी गरेको छ।
बोर्डबाट अनुमतिप्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिब २ हजार ५ सय शाखाबाट नेपालभरि आस्वा लागू भइरहेकोमा ती संस्थाका शाखाहरुलाई सि-आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गराई प्रणाली सञ्चालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले जनाएको छ।
हालसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै सि-आस्वाको सदस्यता लिएका छन्। सिडिएससीले तुरुन्तै सि-आस्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध समेत गरेको छ।
लगानीकर्ताहरुलाई सि-आस्वा रजिष्ट्रेसन नम्बर प्राप्त गर्ने र आस्वा सेवा दिइरहेका बैंकहरुको सहभागिताको लागि यथोचित अवसर दिन समय थप गरिएको हो।
सि-आस्वा आएपछि भने लगानीकर्ताहरुले घरबाटै सेयरमा आवेदन दिन सक्नेछन् भने सेयर बाँडफाँट अवधि पनि छोटिएर १५ दिनमा सीमित हुने मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।