काठमाडौँ - नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ ।
खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए। यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण भइ संस्थानलाई हस्तान्तरण पनि भइसकेको उनले बताए।
सो भवन ५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएकोमा खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी तथा अन्य खाद्य सामग्रीको गुणस्तर परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाले भने,'अहिले भवन हस्तान्तरण मात्र भएको छ। आवश्यक मेशिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापनको कार्य बाँकी नै छ। यही आर्थिक वर्षभित्र आवश्यक सबै कार्य पूरा गर्ने लक्ष्य छ।' उनले आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुने योजना रहेको उल्लेख गरे।
३ लाख क्विन्टल चामल खरिद गरिने
संस्थानले यसवर्ष २ लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य लिएको छ। प्रवक्ता सापकोटाका अनुसार हालसम्म ७० हजार क्विन्टल चामल खरिद भइसकेको, पूूर्वतिर भर्खर खरिद गर्ने पक्रिया शुरु भएको र फागुनसम्म सबै क्षेत्रका लागि खरिद भइसक्नेछ।
यस वर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना रहेको संस्थानले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।