काठमाडौं- निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबारको कारोबारमा भने सम्हालिएको छ। यस दिन नेप्से परिसूचक १ दशमलब ६८ अंकले बढेर १ हजार ३ सय ९४ दशमलब ७३ अंकको विन्दुमा आएर रोकिएको छ।
बुधबार लगातार १५ दिनदेखि ओरालो लागेको एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस दिन कम्पनीको सेयर मूल्य ५ दशमलब ६४ प्रतिशत अर्थात् ८८ रुपैयाँले बढेको छ। त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य ४ दशमलब ६१ प्रतिशतले बढेको छ।
बुधबार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। १ सय ५६ कम्पनीको २६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि मंगरबार ३२ करोड २६ लाख ७३ हजार ३ सय ५८ रुपैयाँको सेयर किनबेच भएका थिए।
बुधबार कारोबारमा आएका ३ समूहमा गिरावट आएको छ भने अन्य ७ समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूहमा २६ दशमलब २ अंकको गिरावट आएको छ। त्यस्तै, माइक्रोफाइनान्स समूह २ दशमलब ६२ अंकले घटेको छ भने फाइनान्स समूहमा शून्य दशमलब ७ अंकको गिरावट आएको छ।
बुधबारको कारोबारमा सबैभन्दा कमाउनेमा बिमा समूहअन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा १६ दशमलब १३ अंकको वृद्धि भएको छ। त्यस्तै, होटल समूह १४ दशमलब ७७ अंकले बढेको छ।
बुधबार नेपाल फाइनान्सको संस्थापक सेयरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। यस कम्पनीको ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्। त्यस्तै, नबिल बैंकको १ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।