काठमाडौं- नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लाग्ने क्रम रोकिएको छैन। मंगलबार नेप्से परिसूचक ९ दशमलब शून्य ५ अंकले घटेर १ हजार ३ सय ९३ दशमलब शून्य ४ अंकको बिन्दुमा आएर रोकिएको छ।
मंगलबार मात्रै दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयर मूल्य ५ दशमलब ३२ प्रतिशतले घटेको छ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ५३ दशमलब २७ प्रतिशतले घटेको छ। कम्पनीले नाफा ६५ लाख रुपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ करोड ३९ लाख रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलब ८६ रुपैयाँ छ।
मंगलबार १ सय ५५ कम्पनीको ३२ करोड २६ लाख ७३ हजार ३ सय ५८ रुपैयाँको सेयर किनबेच भएका छन्। सोमबार ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाँको सेयर खरिद-बिक्री भएका थिए।
मंगलबार कारोबारमा अएका ९ समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूहमा भने कुनै परिवर्तन देखिएको छैन। मंगलबारको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा बिमा समूहअन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा ८७ दशमलब ६५ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूह ३७ दशमलव २९ अंकले घटेको छ।
सानिमा माई हाइड्रो पावरको २ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै, युनिलिभरको २ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
मंगलबारको कारोबारमा सर्वाधिक कमाउने लगानीकर्तामा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्टका लगानीकर्ता छन्। सो कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछिको सेयर मूल्य ५ सय ५५ रुपैयाँ मंगलबार नै समायोजन भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।