रसुवा- नेपाल र चीनबिच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा आजदेखि कन्टेनर आवतजावत सुरु भएको छ।
सोनाम ल्होसारका कारण चिनियाँ भन्सार बन्द भएपछि एक सातादेखि रोकिएको कन्टेनर आजदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालय टिमुरेले जनाएको छ। चिनियाँ भन्सार सुचारु भएसँगै केरुङबाट २५ वटा मालबाहक कन्टेनर नेपालतर्फ आएको र नेपालबाट पनि उत्तिकै संख्यामा केरुङ गएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म रसुवाले जनाएको छ।
माघ १ गतेदेखि चीनतर्फ सार्वजनिक बिदा परेकाले सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनर त्यहीँ रोकिन पुगेका थिए। सामग्री आयातका लागि कर्मचारी र व्यवसायी केरुङ पुगिसकेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए।
बिदाको समयमा पनि नाका बन्द नभएको कारण खाली कन्टेनर तथा साना सवारी साधनको नियमित सञ्चालन भइरहेको थियो। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।
चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपूर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।