काठमाडौं– बैंक तथा वित्तीय संस्थाको पहुँच बढेसँगै खाता खोल्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा बैंकमा निक्षेप खाताको संख्या १७ प्रतिशतले बढेको छ। २०७३ मंसिरसम्ममा बैंकमा १ करोड ७५ लाख १९ हजार २८७ निक्षेप खाता रहेकोमा ०७४ मंसिरसम्ममा २ करोड ५ लाख ७ हजार ६१२ पुगेको छ।
यसले बैंकिङ कारोबारतर्फ सर्वसाधारणको आकर्षण बढेको देखाउँछ। बैंकिङ प्रणालीमा कारोबारमा प्रोत्साहन गर्ने नीतिसँगै खाता खोल्ने सर्वसाधारण बढेका हुन्।
गत आर्थिक वर्षको बजेटमार्फत ‘एक व्यक्ति एक बैंक खाता’ नीति घोषणा गर्दै सरकारले सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउने लक्ष्य राखेको थियो। यसका लागि सरकारी स्तरबाट कुनै कार्यक्रम नआएपछि बैंकहरुले नै सेवा विस्तार गरेपछि खाता खोल्नेको संख्या बढेको बैंकरहरू बताउँछन्।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा १ करोड ६६ लाख ७३ हजार ७२ वटा निक्षेप खाता रहेका छन्। विकास बैंकमा ३३ लाख ७८ हजार ९४५ र फाइनान्स कम्पनीमा ४ लाख ५५ हजार ५९५ खाता छन्।
कर्जा खाता १ लाख बढ्यो
यसैगरी, एक वर्षको अवधिमा बैंकबाट कर्जा लिने ग्राहकको संख्या १ लाख वृद्धि भएको छ। चालु आर्थिक वर्षको मंसिरसम्म कर्जा खाता खोल्नको संख्या १२ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ लाख १५ हजारभन्दा बढी हो।
मोबाइल बैंकिङमा सेवाग्राहीको क्रेज
पछिल्लो वर्षमा मोबाइल बैंकिङ सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल बैंकिङ सेवा लिनेको संख्या १२ लाख ३२ हजारले बढेको छ।
मंसिरसम्म मोबाइल बैंकिङ लिनेको संख्या २९ लाख ८६ हजार ६ सय ६९ पुगेको छ। यो संख्या अघिल्लो वर्ष १७ लाख ५४ हजार रहेको थियो।
मोबाइल बैंकिङ सेवा लिने ग्राहकको संख्या वाणिज्य बैंकमा २७ लाख ३ हजार ५४५ छ। त्यस्तै, विकास बैंकबाट २ लाख ६७ हजार ६८२ र फाइनान्स कम्पनीबाट १५ हजार ४४२ जनाले मोबाइल बैंकिङ सेवा लिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।