काठमाडौं- सिडिएस एन्ड क्लियरिङ लिमिटेडले 'सि-आस्बा प्रणाली' मंगलबारबाट कार्यान्वयनमा ल्याएको छ।
यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ।
सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर सम्पूर्ण बैंक तथा वित्तीय संस्था, निष्कासनकर्ता, निष्कासन तथा बिक्री प्रबन्ध, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराएको छ।
सि-आस्बामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन्।
सिडिएसले बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धी विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने भएकाले बाँडफाँटको प्रक्रिया समेत छोटिने जनाएको छ।
हालसम्म सि-आस्बा प्रणालीमा २५ वटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्। सिडिएसले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई तुरुन्तै सि-आस्बाको सदस्यता लिन अनुरोध समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।